• ३० भदौ २०८१, आइतबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा थपिए ५३ प्रजातिका माछा

blog

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा रहेको ताल। तस्बिर : अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, माघ १२ गते । सुदूरपश्चिम प्रदेशको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ५३ प्रजातिका माछा थपिएका छन्। निकुञ्जमा गरिएको एक अध्ययनले पहिले अभिलेख गरिएकोभन्दा झन्डै दोब्बरले माछा प्रजाति वृद्धि भएको देखाएको हो। यसअघिसम्मको अध्ययनले यो निकुञ्जमा ३५ प्रजातिका माछा रहेको पुष्टि भएको थियो। 

सन २०२० को बसन्त र शरद ऋतुमा गरिएको अध्ययनमा थप ५३ प्रजाति थपिएका छन्। अब यो निकुञ्जमा जम्मा माछा प्रजातिको सङ्ख्या ८८ पुगेको छ। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका तत्कालीन प्रमुख संरक्षण अधिकृत (हाल शिवपुर नागार्जुन नेशनल पार्क काठमाण्डौंमा कार्यरत) लक्ष्मण पौड्याल, प्राकृतिक विज्ञान सङ्ग्रहालयका प्रमुख डा. गणेशबहादुर थापा र अमृत साइन्स क्याम्पसको प्राणीशास्त्र विभागमा कार्यरत विशाल पौड्यालसहितको टोलीले माछा प्रजातिको अध्ययन गरेको थियो। तीनै जना अध्ययनकर्ताले गरेको अध्ययन सम्बन्धीको संयुक्त लेखप्राकृतिक विज्ञान सङ्ग्रहालय जर्नलमा प्रकाशित भएको छ।  

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रको ताल, नदी, घोलमा पाइने प्रत्येक माछा प्रजातिको अध्ययन गरेर लेख प्रकाशित गरेको अध्ययनकर्ता लक्ष्मण पौड्यालले बताउनुभयो। ‘सम्भव भएका धेरैजसो प्रजाति पक्रेर हामीले अध्ययन गरेको हो’, उहाँले भन्नुभयो,‘केही पुरानो साहित्य समीक्षा गरेर प्रजाति थप गरेका छौं।’ 

माछा प्रजाति अध्ययनमा सुयात्रा घिमिरे, यमबहादुर रावत, धर्मजित साउद, देवराज जोशी, सुनिल डङ्गौरा र रविन्द्र चौधरीले सहयोग गर्नु भएको थियो। यसैगरी, अध्ययनका लागि दुई जना मछुवा उमेश सुनाहा र प्रकाश रानाले माछा खोज्ने, समात्ने कार्यमा सहयोग गर्नु भएको थियो। 


महाकाली नदीमा लोप हुँदै गएको ‘गोल्डे महाशिर’ माछा पनि शुक्लफाँटाको जलासयमा भेटिएको छ। कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा झन्डै दुई दशकपछि मात्रै माछाको विस्तृत अध्ययन गरिएको हो। 

यसअघि, आरक्ष बनाउनुभन्दा अगाडि सबैभन्दा पहिले तेजकुमार श्रेष्ठ नेतृत्वको टोलीले अध्ययन गर्दा शुक्लाफाँटा क्षेत्रमा २१ प्रजातिका माछा फेला परेका थिए। सन २०१९ अगाडिसम्मको पुरानो अध्ययनले भने यो निकुञ्जमा ३५ प्रजातिको माछा रहेको देखाएको थियो। 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा महाकाली नदी, चौधर, बाहुनी, स्याली, राधा नदी, रानी ताल, सिकारी, तारा ताल, कालीकिच, लामी, सोलगौडी ताल र विभिन्न सानातिना झरना, घोल माछा र जलीय प्राणीको मुख्य बासस्थान हो। यिनै नदी, तालमा माछाका प्रजातिको अध्ययन गरिएको थियो।