शिवशंङ्कर मिश्र
बारा, माघ १२ गते। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नो पहिलो प्राथमिकता भ्रष्टाचर नियन्त्रण गर्नु रहेको बताउनुभएको छ। बाराको कलैया उपमहानगरपालिका १ मा नगरसभा गृहको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो।
उहाँले केन्द्र सरकार र स्थानीय सरकारसँग समन्वय गरेर विकासका कामलाई अगाडि बढाउनेसमेत बताउनुभएको छ। मधेश प्रदेशका आठ जिल्लामा रहेका १२६ पालिका मध्ये सदरमुकाममा रहेका पालिका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई १५ दिनभित्रमा राजमार्ग जोड्ने सडक विस्तार लगायतको विकास निर्माणको कार्य सुरु गर्न मुख्यमन्त्री यादवले निर्देशनसमेत दिनुभएको छ।
उहाँले ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्नसमेत निर्देशन दिनुभएको छ। १३ कठ्ठा क्षेत्रफलमा भवन निर्माणका लागि साहु कन्ट्रक्सन रौतहटले चार करोड सात लाख ९२ हजारमा ठेक्का लिएको हो। भवन निर्माण कार्य २०८० को जेठ मसान्तभित्र सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएको प्रमुख प्रशासकीय अधिकृत नाथु साहले जानकारी दिनुभयो।
कार्यक्रममा पूर्वमन्त्री किसान श्रेष्ठ, प्रदेश सभा सदस्य महमद समिर, पारस साह, किशोरीप्रसाद कलवार, जुल्फकार अली, बिनोद जैसवाललगायत उपस्थित हुनुहुन्थयो।