• १२ साउन २०८१, शनिबार

राष्ट्रपतिमा सहमतिका लागि कांग्रेससँग पनि छलफल गर्छौ : देवेन्द्र पौडेल

blog

बिहीबार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै नेकपा (माओवादी केन्द्र)का नेता देवेन्द्र पौडेल ।

काठमाडौं, माघ १२ गते। नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले राष्ट्रपति पदका लागि राष्ट्रिय सहमतिको प्रयास हुने बताउनुभएको छ। 

बिहीबार कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै उहाँले यसका लागि नेकपा (एमाले) र नेपाली कांग्रेससहित अन्य दलबीचमा सहमतिको प्रयास हुने बताउनुभएको हो। 

नेता पौडेलले भन्नुभयो, “राष्ट्रपति भनेको साझा व्यक्तित्व हो। जसलाई, देशका प्रमुख पार्टीले सकेसम्म समन्वय गरेर जानुपर्छ। प्रधानमन्त्रीका लागि विश्वासको मतमा सबैले सहमति गर्नुभयो। त्यसैगरी, समन्वय जुटाएर राष्ट्रपति संविधानमा गरेको व्यवस्था अनुरूप त्यस प्रकारको व्यक्तित्व अगाडि सार्न सक्यौँ भने सम्भावित दुर्घटना नियन्त्रण गर्न र संविधानको संरक्षण गर्नका निम्ति सहज हुन्छ।” राष्ट्रपतिमा सहमति हुन सके अहिले बनावटको संसद्लाई आगामी पाँच वर्षसम्म सकुशल लान सजिलो हुने उहाँको भनाइ छ। 

उहाँले एमालेसहित कांग्रेस र अरू दलमा पनि सहमति जुटाउने प्रयास भएको उहाँको भनाइ छ। नेता पौडेलले भन्नुभयो, “दलीय भागबण्डा गर्नुपर्ने पद पनि त्यो होइन। राज्यको सम्मान प्राप्त गरेको व्यक्ति भएकोले  नेपाली कांग्रेसले पनि त प्रधानमन्त्रीलाई मत दिनुभयो। यसले सहमतिको सरकार बनाउन सहयोग पुगेको छ। त्यसैले सल्लाहले राष्ट्रपति चुनियो भने राम्रो हुन्छ। एमाले, कांग्रेससँग छलफल गरेर अगाडि बढ्छौँ।”

उहाँले आधारभूत विचार एकै भएका पार्टी एकताबद्ध हुनुपर्नेमा पनि जोड दिनुभयो।