गोरखापत्र अनलाइन
दाङ, माघ १२ गते । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अब सबैले बलियो कांग्रेस बनाउने अभियानमा लाग्नुपर्ने बताउनु भएको छ ।
कांग्रेस घोराही उपमहानगरपालिका दाङको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्र बलियो बनाउन कांग्रेस बलियो हुनुपर्ने धारणा राख्नुभयो ।
नेता महरले भन्नुभयो, ‘‘बहुदलीय व्यवस्थामा पार्टी बलियो बनाउनुपर्छ, पारदर्शी हुनुपर्छ, त्यसैले पाँच वर्षसम्म पार्टीको बलियो सङ्गठन निर्माणमा लाग्नुपर्छ। अबको पाँच वर्षपछि कांग्रेस एक्लै चुनावमा होमिने र एकल दुई तिहाइ ल्याउने अवस्थामा पुराउनुपर्छ। त्यसपछि मात्र नेपालमा विकास र लोकतन्त्रको जग बलियो हुन्छ।’’
अब कांग्रेस सत्ताको खेलमा लाग्न नहुने स्पष्ट पार्दै नयाँ आएका दलहरूप्रति पनि युवाको आशा मर्दै गएको टिप्पणी गर्नुभयो ।
मुलुकमा केही गर्छु भन्ने युवाले आत्मदाह गर्ने अवस्था सिर्जना हुनुले हाम्रो मुलुक कता गइरहेको छ भन्ने चिन्ता लागिरहेको छ भन्दै उहाँले नयाँलाई पनि जनताले भरोसा गर्न सक्ने अवस्था देखिँदैन भन्नुभयो ।
कांग्रेसका लागि प्रधानमन्त्री, राष्ट्रपति भनेका जनता हुन्, पाँच वर्ष उनीहरूकै बीचमा रहेर काम गर्नुपर्छ भन्दै नेता महरले राष्ट्रिय सहमतिका लागि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेको स्पष्ट पार्नुभयो ।
प्रदेश सभापति तिलक रावलको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेश उपसभापति राजु खनाल, नेताहरू खगराज पाण्डे, जिल्ला सभापति शंकरप्रसाद डाँगीलगायतले आफ्नो धारणा राख्नुभएको थियो ।