जानु पाण्डे
कपिलवस्तु, माघ १२ गते । भैरहवाको शाहनी बिल्डर्सले समयमा काम नगर्दा बाणगंगा नगरपालिकाको योजना प्रभावित भएको छ । सो निर्माण कम्पनीले नगरपालिकाले सकार गरेको योजनामा ढिलासुस्ती गर्दा स्थानीयले सास्ती खेप्नुपरेको छ ।
बिल्डर्सले इ–विडिङ्गमार्फत वडास्तरमा सडक कालोपत्रेको ठेक्का पाएको थियो । जसमध्ये अधिकांश योजना अधुरै छ । म्याद थप गरेपछि पनि कम्पनीले काम नगरी सम्पर्कमा नहुने नगर प्रमुख चक्रपाणि अर्यालले बताउनुभयो ।
बिल्डर्सले गत आर्थिक वर्षमा सम्झौता गरेको वडा –८ को बन्डौलि, गन्सहवा, चप्परगाउँ सडक कालोपत्रे काम ठप्प रहेको छ । पालिकाले काम सम्पन्न गर्न २०७९ असोज मसान्तसम्म म्याद थप गरेको थियो । तर सडकको अवस्था जस्ताकोत्यस्तै रहेको छ । गिट्टी, बालुवा लगायतका निर्माण सामग्री सडक छेकिनेगरी थुपारिएको छ । केही ठाउँमा दुबोमाथि नै कालोपत्रे गरिएको स्थानीय पीताम्बर घिमिरेले बताउनु भयो ।
वडा ३ को ठाँटी र सिउटि – हथौसा जोड्ने सडक निर्माण समेत अलपत्र पारेर ठेकेदार सम्पर्कविहीन भएको वडा अध्यक्ष टेकबहादुर झेडी मगरले बताउनुभयो । वडा ६ मा सानो ५ वटा खण्डमा कालोपत्रे पनि उक्त कम्पनीको ठेक्का छ । तर सबै योजना अलपत्र पारेर छाडेको वडा अध्यक्ष करुण टन्डनले बताउनुभयो ।
बिल्डर्सले वडा ११ का सडक कालोपत्रेका लागि ३ वटा सडक खण्डको ठेक्का पाएको थियो । व्यासको काम गरेपछि ठेकेदारले बाँकी काम थाती राखेर सम्पर्कविहीन भएका छन् । काम सम्पन्न होस् भनेर कार्यपालिकाबाट म्याद थप गराए पनि अलपत्र राखेर सम्पर्कमा नभएको वडा अध्यक्ष नरेन्द्रप्रसाद थारुले बताउनुभयो । यता, कम्पनीका सञ्चालक लवकुश साहनीले माघ मसान्तभित्र सबै काम सक्ने दाबी गर्नुभयो ।