• १२ मंसिर २०८१, बुधबार

बुटवल नगरसभाको १२ औँ अधिवेशन सम्पन्न

blog

छविलाल पाण्डे 

बुटवल, माघ १२ गते । बुटवल उपमहानगरपालिका नगर सभाको १२ औँ अधिवेशन विभिन्न ऐन संशोधन तथा नीतिहरू पारित गर्दै सकिएको छ । पुस २१ गते सुरु भएको नगरसभाको १२ औँ अधिवेशनले जलश्रोत नीति, कर्मचारी दरबन्दी सम्बन्धी सङ्गठन तथा व्यवस्थापन संरचना, स्वास्थ्य ऐन संशोधनसहित पारित गरेको हो । 

अधिवेशनले बुटवलभित्र रात्रिकालीन बजार सञ्चालन, नदीजन्य पदार्थको अवैध उत्खनन तथा चोरी निकासीमा नियन्त्रण, नागरिक बडापत्रलाई तीन भाषामा प्रकाशन गर्ने प्रस्ताव पारित गरेको नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थीले जानकारी दिनुभयो । 

यस्तै, नगरसभाले यसअघि गठन भएका समिति, उपसमिति, परिषद् र आयोगहरूको नयाँ गठन प्रक्रिया अगाडि बढाउने, बुटवलभित्रका पार्कलाई नगर मातहत ल्याउन कानुन बनाउने, टोलविकास संस्थालाई व्यवस्थित गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ । 

यसअघि नगरसभाको बैठकमा सम्बोधन गर्दै नगरसभाका अध्यक्ष तथा बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवललाई अगुवा सहरका रूपमा स्थापित गर्न सबै जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारी एकजुट भएर अगाडि बढ्ने बताउनुभयो । 

उहाँले बुटवललाई ‘समानता, स्वाभिमान र अवसरसहितको बस्नयोग्य सहर’ का रूपमा स्थापित गर्दै आर्थिक केन्द्र र मानव संशोधनका दृष्टिले उच्च क्षमताको जनशक्ति उत्पादन र खपत गर्ने सहरका रूपमा स्थापित गर्ने बताउनुभयो । 

उहाँले चालु आर्थिक वर्षको बजेट कार्यान्वयनमा विशेष चासो दिँदै समयमै योजना सम्पन्न गर्नतर्फ ध्यान दिन जनप्रतिनिधि र कर्मचारीलाई आग्रह गर्नुभयो ।