• ८ मंसिर २०८१, शनिबार

राम्रो

blog

जस्तै जुनेली नभ हुन्छ राम्रो

झुल्के बिहानी पनि हुन्छ राम्रो ।

सदैव यौटै क्षण हुन्न राम्रो 

होस् एक त्यस्तै घरबार हाम्रो ।। १ ।।


जस्तै वसन्ती फूल हुन्छ राम्रो 

बेली चमेली पनि हुन्छ राम्रो ।

हुँदैन यौटै चिज वस्तु राम्रो 

होस् एक त्यस्तै घरबार हाम्रो ।। २ ।।


झरिरहेको झरना छ राम्रो 

गुराँस फुल्दा वन शैल राम्रो ।

सदैव यौटै सुख हुन्न राम्रो 

होस् एक त्यस्तै घरबार हाम्रो ।। ३ ।।


जस्तै शरद् सुन्दर याम राम्रो 

झरी भदौरे पनि हुन्छ राम्रो ।

सदैव यौटै स्थिति हुन्न राम्रो 

होस् एक त्यस्तै घरबार हाम्रो ।। ४ ।।


बस्दा सभामा जति ज्ञान राम्रो 

एकान्त बस्दा त्यति ध्यान राम्रो ।

सदा सदा हे ! जति शान्ति राम्रो

होस् एक त्यस्तै घरबार हाम्रो ।। ५ ।।


वसन्तको सान निकुञ्जभित्र 

क्वैली चराको कुहुको विचित्र ।

आवाज सुन्दा जति लाग्छ राम्रो 

होस् एक त्यस्तै घरबार हाम्रो ।। ६ ।।



एकान्त रात्रिबीच जून डुल्दा

यैभित्र लाखौँ चिज वस्तु खुल्दा ।

मिलिरहेको जति चित्र राम्रो 

होस् एक त्यस्तै घरबार हाम्रो ।। ७ ।।