• ८ मंसिर २०८१, शनिबार

केही छोटा कविता

blog

१. परिवर्तन

कसैको आँशु मोती हुन्छ

कसैको आँशु पानी हुन्छ

कहानी मोतीको आफ्नै

कहानी पानीको आफ्नै

झिँजा, दाउरा, मूढाको आफ्नै

रापतापमै चम्किन्छ जीवन

सुन झन झन खारिन्छ

दाउरा जलेर खरानी हुन्छ ।

२. देशप्रेम

गुमाने गाउँबाट बेसी झ-यो

धने बेँसीबाट सदरमुकाम स-यो

मन गर्छ गुमानेको छोरो कतार जान

धनेकी छोरीलाई

अमेरिकाको डीभी प-यो

विश्व–वाष्पीकरणको चपेटामा छन्

अचेल हिमालहरू

सगरमाथाको हिउँले पनि

समुद्रसँग बिहे गर्ने सुर ग-यो

गाउँमै नेपाली पढाउँदै छन् पण्डित बाका छोरा

चौतारीमा मिसाउँदै छन् गाउँलेहरू हाँसोमा हाँसो

बाउको धार्मिक प्रवचन

र छोराको देशप्रेमको कविताले खै के ग-यो ?

३. सीप

भन्दै छ अत्याधुनिक अर्थशास्त्री

हिमालको फोटो बिक्छ

झरनाको फोटो बिक्छ

बिक्ने कुरा कति कति छन्

सुदूर गाउँमा

च्यातिएको चोली

फाटेको टोपी

फुटेका कुर्कुच्चा

कहीँ न कहीँ

कतै न कतै बिक्छ बिक्छ

केही गर्नै पर्दैन धनी हुन उहाँलाई

उहाँसँग हाम्रो देश

र हाम्रो गरिबी बिक्री गर्ने सीप छ ।

४.  प्रमाण

कसले भन्छ

कृत्य कुकृत्य देउताले मात्र देख्छ

अरूले देख्दैन

कहाँ पाइन्छ आफूले आफूलाई देखिन भन्न ?

भो नपुच्छनुहोस् ऐनामा धुलो

मान्छेभन्दा नाङ्गो

अरू कुनै जीव नै छैन । 


बोस्टन, अमेरिका ।