• १३ वैशाख २०८१, बिहिबार

कृत्रिम जलाशयले हराभरा

blog

लीलाधर वली

घोराही, माघ १२ गते । कुनै समय हिउँद नलाग्दै सुक्खा हुने घोराही उपमहानगरपालिकाका गाउँबस्ती पछिल्लो समय हराभरा हुन थालेका छन् । स्थानीय सरकारको प्रयासमा निर्माण गरिएका कृत्रिम जलाशयका माध्यमबाट पानीको संरक्षणसँगै सिँचाइको व्यवस्था हुन थालेपछि किसानहरू पनि कृषि व्यवसायमा जोडिएका छन् ।  

करिब सात वर्षको अवधिमा घोराहीका विभिन्न वडामा ४३ वटा जलाशय निर्माण गरिएको छ । यस अवधिमा घोराही उपमहानगरसँगै प्रदेश र सङ्घीय सरकारको करिब २० करोड २१ लाखभन्दा बढीको लागतमा करिब ९० बिघा क्षेत्रफलमा जलाशय निर्माण गरिएका छन् । बढ्दो सहरीकरण र जनघनत्वसँगै पानीको मुहान सुक्दै जान थालेको समयमा कृत्रिम जलाशयका माध्यमबाट पानी संरक्षणमा उपमहानगरले चालेको यो कदमलाई स्थानीयले सकारात्मक प्रयासका रूपमा लिएका छन् ।

घोराही उपमहानगरका १९ वडामध्ये १४ वडामा ३४ वटा जलाशय निर्माण भएका छन् । वडागत रूपमा हेर्दा सबैभन्दा धेरै जलाशय वडा नं. १७ मा निर्माण गरिएको छ । उक्त वडामा आठवटा जलाशय बनेका छन् । वडागत रूपमा बनेका जलाशयअन्तर्गत वडा नं. १ मा चरिङ्गे, भोटे, चेपे, गवरे र चुरे जलाशय गरेर पाँचवटा जलाशय रहेका छन् । त्यसैगरी वडा नं. २ मा  चेपे, बलरामपुर, सहरे जलाशय रहेका छन् । 

चेपे जलाशय सुर्केडाँगी, बाहुनटारी, राइटारीलगायतका ठाउँका लागि सिँचाइसँगै जलविहारका लागि आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको स्थानीय महेश चौधरी बताउनुहुन्छ । वडा नं. ४ मा अमारे, चरिखुट्टे, छरछरे, रोहिणी, सुकी दह,वडा नं. ५ मा धारापानी र भमकी सिमसार जलाशय, वडा नं. ६ मा लख्वारे, पीपल–छहारी, फचकपुर तल्लो र फचकपुर माथिल्लो जलाशय, वडा नं. ८ मा लरैना जलाशय, वडा नं. १० मा ठाँटी गाउँ जलाशय र वडा नं. ११ मा एउटा सिरुगैरा जलाशय निर्माण गरिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

त्यसैगरी, वडा नं. १२ मा जङ्गखोली, वनवाटिका र साततले गरी तीनवटा जलाशय, वडा नं. १३ मा ज्यामिरे र बाह्रकुने, वडा नं. १६ मा गङ्गटिया तल्लो र माथिल्लो गरी दुई जलाशय, वडा नं. १७ मा कटही, ढिकपुर, आरोग्य, कर्जाही, डबरी, गुलरिया, ओखरा, कमलपोखरी गरी आठवटा  र वडा नं. १८ मा अम्बापुर, गिठेपानी तल्लो जलाशय, गिठेपानी उपल्लो जलाशय, सुँगुरे, रानीजरुवा र काभ्रेखोला जलाशय रहेका छन् ।

जलाशय निर्माणपछि कृषि, माछापालन, पर्यटनजस्ता व्यवसायमा टेवा पुग्न थालेको छ । यहाँका केही क्षेत्रमा जलाशय निर्माणपछि जनताको दैनिकीमा समेत परिर्वतन भएको र धेरैको रोजगारी सिर्जना भएपछि उपमहानगरले जलाशय निर्माणमा लगानी बढाएको छ ।

उपमहानगरभित्र पालिका र वडाको आफ्नै स्रोत व्यवस्थापनबाट केही प्रदेश सरकार, केन्द्र सरकारसँगको समन्वयमा बजेट व्यवस्थापन गरी कतै नयाँ जलाशय निर्माण र कुनै ठाउँमा साना पोखरीका रूपमा रहेका जलाशयलाई विस्तार गरिएको हो ।

निर्माण गरिएका जलाशयको बहुउपयोगितासँगै दिगो व्यवस्थापनका लागि थप बजेट आवश्यक पर्ने घोराही उपमहानगरपालिकाका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर युवराज पौडेलले बताउनुभयो । हाल बनिसकेका जलाशयको स्तरवृद्धि गर्न पालिकास्तर, वडास्तर तथा प्रदेश र सङ्घबाट पनि समन्वय गरी बजेट व्यवस्थापनको काम भएको छ, प्रमुख इन्जिनियर पौडेलले बताउनुभयो ।