• १२ साउन २०८१, शनिबार

सरकारलाई समर्थन गरे पनि गठबन्धनमा छैनौँ : अध्यक्ष श्रेष्ठ

blog

घोराहीमा सञ्चारकर्मीसँग कुरा गर्दै नागरिक जनमुक्ति पार्टीकी अध्यक्ष श्रेष्ठ । तस्बिर : लीलाधर वली

लीलाधर वली

घोराही, माघ ११ गते । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले वर्तमान सरकारलाई समर्थन रहे पनि आफूहरू गठबन्धन दलभित्र नरहेको बताउनुभएको छ । लुम्बिनी प्रदेशमा हुन थालेको राष्ट्रिय सभाको उपनिर्वाचनको उम्मेदवारी दर्ताका क्रममा बुधवार घोराही आउनुभएकी अध्यक्ष श्रेष्ठले त्यस्तो बताउनुभएको हो ।

सत्ता साझेदार दलमा नभएका कारण आफ्नो पार्टीले राष्ट्रियसभा सदस्यमा छुट्टै उम्मेदवारी दर्ता गराएको उहाँले बताउनुभयो । ‘सरकारलाई विश्वासको मत दिए पनि हामी प्रतिपक्षको वेञ्चमा छौँ । हामीले उठाउँदैआएको न्यायको मुद्दा सम्बोधन नहुँदासम्म सरकारलाई हाम्रो सहयोग रहँदैन’ अध्यक्ष श्रेष्ठले भन्नुभयो, ‘हामीले दिएको उम्मेदवारी फिर्ता लिँदैनौँ । एक्लै प्रतिस्पर्धा गर्छौँ ।’

आफ्नो पार्टीको समर्थनमा सुदूरपश्चिमको राजेन्द्रसिंह रावल मुख्यमन्त्री भए पनि विश्वासको वातावरण नभएकाले मुख्यमन्त्री रावललाई विश्वासको मत दिन नसक्ने उहाँको भनाइ छ । एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित रावल गत पुस २७ गते नागरिक उन्मुक्ति पार्टी, नेकपा माओवादी, राप्रपा लगायतको समर्थनमा मुख्यमन्त्री बन्नुभएको थियो ।  निर्वाचित भएको एक महिनाभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ ।