• ८ वैशाख २०८१, शनिबार

३७ वर्षपछि कालिकाेटमा विमानस्थल निर्माण

सुनथराली विमानस्थल उडानको पर्खाइमा

blog

३७ वर्षपछि तयार भएको कोटवाडा कालीकोटमा रहेको सुनथराली विमानस्थल तस्बिर– प्रेमराज सिम्खडा

प्रेमराज सिम्खडा  

कालीकोट, माघ ११ गते । कालीकोटको एकमात्र सुनथराली विमानस्थल ३७ वर्षपछि तयार भएको छ । वि.सं. २०४२ सालमा निर्माण कार्य सुरु भएको सुनथराली विमानस्थल कालोपत्रेको काम सकिएपछि अब विमान उडान सकिने भएको हो ।

सुनथराली विमानस्थल, कोटवाडाका आयोजना प्रमुख तथा नागरिक उड्डयन प्राधिकरणका प्रबन्धक इन्जिनियर रत्नवहादुर श्रेष्ठले निकट भविष्यमै विमानस्थलमा हवाईजहाज अवतरण गराउने बताउनुभयो ।

इन्जिनियर श्रेष्ठले अहिले कालोपत्रको काम सकिएको र रङ्गरोगनको काम भइरहेकाले माघको तेस्रो हप्ता वा फागुनको पहिलो हप्तासम्म सुनथराली विमानस्थलमा परीक्षण उडानसँगै नियमित उडानका लागि विमान कम्पनीले कार्यतालिका सार्वजनिक गर्ने बताउनुभयो । 

उता, रङ्गरोगनको काम सम्पन्न हुने बित्तिकै आफूले नागरिक उड्डयन प्राधिकरणलाई जानकारी दिने र त्यसपछि विमान कम्पनीसँगको सल्लाहमा उडानको मिति तय हुने उहाँ बताउनुहुन्छ ।

पानीसँगै हिमपात नभएको भए आजसम्म रङ्गरोगनको काम सकिएर आफूले रिपोर्ट गरिसक्ने भन्दै पानी र हिमपातले केही दिन काममा समस्या परेको इन्जिनियर श्रेष्ठले जानकारी दिनुभयो । एक अर्ब भन्दा बढी निर्माण खर्च भएको विमानस्थल कालोपत्रे गर्न भ्याटसहित १४ करोड, ९३ लाख पाँच हजार रुपियाँ खर्च भएको छ । 

विमानस्थल सञ्चालन उन्मुख हुँदा यहाँका नागरिक निकै उत्साहित भएका छन् । विमानस्थल नजिकै घर भएका अग्रबहादुर विष्टले आपत्कालीन अवस्थामा हवाईजहाज चढ्न पाउने अवसर जुरेको बताउनुभयो ।

निर्माणस्थलमा २०५८ सालमा कामदारसहित ३२ जनाको तत्कालीन राज्य पक्षले ज्यान लिँदा हतोत्साहित भएका आफूहरू अहिले सुन्दर सुनथराली विमानस्थल उडान भर्ने अवस्थामा पुग्दा दुःख बिसाउन अलि सहज भएको उहाँको भनाइ छ । 

विमानस्थलको लम्बाई ६४० मिटर र २० मिटर चौडाइ छ । विमानको टर्निङ प्याप ५०० वर्गमिटरका दुईवटा छन् । यस्तै, ट्याक्सी (वय) रुड २५ मिटर लम्बाई र २० मिटर चौडाइ रहेको छ । विमानको पार्किङ क्षेत्र ७० मिटर लम्बाई र ३० मिटर चौडाइ छ । कोटवाडा विमानस्थलमा दुवै तर्फबाट अवतरण गर्न सक्छ ।