• ४ जेठ २०८१, शुक्रबार

छ जनाको शव ‘डिएनए’बाट पहिचान गरिने

blog

काठमाडौँ,   माघ  ११ गते । पोखरा हवाई दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान हुन बाँकी छ । काठमाडौँ ल्याइएका ४८ मध्ये छ जनाको शव पहिचान हुन बाँकी रहेको त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले जनाएको छ । 

अस्पतालका फरेन्सिकविद् डा. तुलसी कँडेलले फरेन्सिक र फिङ्गर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको बताउनुभयो । छ जनाको शव अब ‘डिएनए’ परीक्षणबाट पहिचान गरिने उहाँले बताउनुभयो । 

“छ जनाको शव अत्यधिक जलेको हुनाले हामीलाई फरेन्सिक र फिङ्गर फ्रिन्ट विधिबाट पहिचानमा समस्या भयो, त्यसैले डिएनए विधिबाट पहिचान गर्ने प्रक्रिया सुरु गरेका छौँ,” उहाँले भन्नुभयो ।

नेपाल प्रहरीको प्रयोगशालामा शवको ‘डिएनए’ परीक्षण गरिनेछ । उहाँले ‘डिएनए’ परीक्षणका लागि मृतक र मृतकका नातेदारको नमुना सङ्कलन गर्ने कार्य भइरहेको जानकारी दिनुभयो । 

यो विधिबाट शव पहिचान गर्न कम्तीमा २२  दिन लाग्नेछ । विमान दुर्घटनाका ४८ शव फरेन्सिक जाँचका लागि काठमाडौँ ल्याइएको थियो भने पोखरामा २२ शवको जाँच गरिएको थियो । 

गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा जहाजमा सवार ७२ जनाको मृत्यु भएको थियो ।