• १५ चैत २०८०, बिहिबार

लोकसेवा सम्बन्धी आजको ताजा वस्तुगत प्रश्नोत्तर

blog

१. बहराइन राज्यले प्रदान गर्ने प्रतिष्ठित इसा पुरस्कारबाट सम्मानित नेपाली चिकित्सक को हुन् ?

डा. सन्दुक रुइत 

मानवीय सेवा तथा अन्धोपन निवारणमा उत्कृष्ट योगदान पु-याएबापत वरिष्ठ आँखा रोग विशेषज्ञ डा. रुइत १० लाख डलर (करिब १३ करोड रुपियाँ) राशिको प्रतिष्ठित ‘इसा अवार्ड’बाट सम्मानित भएका । बहराइनस्थित ‘इसा अवार्ड फर द सर्भिस टु ह्युमानिटी’ नामक संस्थाले सन् २०२३ जनवरी १७ मा रुइतको नाम छनोट गरी अवार्ड दिने घोषणा गरेको ।

बहराइनका पूर्वराजा सेख इसा विन सलमान अल खालिफाको नाममा सन् २००९ मा स्थापना गरिएको इसा अवार्ड सन् २०१३ देखि प्रदान गर्न थालिएको । 

उत्कृष्ट मानव सेवा गर्ने र मानव जीवन रक्षाका लागि लड्नेलाई यो अवार्ड हरेक दुई वर्षमा प्रदान गरिने । 

हजारौँ मानिसको गुमेको आँखाको ज्योति फर्काएका डा. रुइत तिलगङ्गा आँखा प्रतिष्ठानका संस्थापक तथा कार्यकारी निर्देशक हुन् । नेपालबाट यो अवार्ड प्राप्त गर्ने उनी पहिलो व्यक्ति हुन् ।

यसअघि रुइत सन् २००६ मा मलेसियाको रोमन म्यागासेसे अवार्ड, सन् २००७ मा अर्डर अफ अस्ट्रेलिया र सन् २०१८ मा पद्मश्री अवार्ड (भारत सरकारबाट प्रदान गरिएको) एवं फिलिपिन्स क्यासिसीलगायत अवार्डबाट सम्मानित भएका ।


२. मुलुकको कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी प्रदेशको हिस्सा कति रहेको छ ?

१४.१ प्रतिशत 

नेपाल राष्ट्र बैङ्कले सार्वजनिक (सन् २०२३ जनवरीमा) गरेको आर्थिक वर्ष २०७८÷७९ मा लुम्बिनी प्रदेशको आर्थिक गतिविधि अध्ययन प्रतिवेदनले सो तथ्य प्रस्तुत गरेको । प्रतिवेदनले प्रदेशगत हिसाबले कुल गार्हस्थ्य उत्पादनमा लुम्बिनी तेस्रो ठूलो योगदानकर्ता बनेको ।

समीक्षा अवधिमा लुम्बिनी प्रदेशको आर्थिक वृद्धिदरमा समेत केही सुधार आएको देखिएको । आर्थिक वर्ष २०७७÷७८ मा सो प्रदेशको आर्थिक वृद्धि ३.९ प्रतिशत रहेकोमा समीक्षा वर्षमा ५.४ प्रतिशत रहने अुनमान राष्ट्र बैङ्कको रहेको ।

देशको समग्र कृषि, उद्योग र सेवा क्षेत्रमा लुम्बिनी प्रदेशको हिस्सा क्रमशः १७.३ प्रतिशत, १५.८ प्रतिशत र 

१२.५ प्रतिशत रहेको ।

प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा ५४.५ प्रतिशत योगदानसहित सेवा क्षेत्र उच्च योगदान गर्ने क्षेत्रका रूपमा रहेको । त्यस्तै कृषि क्षेत्रको ३०.१ र उद्योग क्षेत्रको १५.४ प्रतिशत योगदान रहेको । 

देशभित्र बैङ्क तथा वित्तीय संस्थाबाट सङ्कलित कुल निक्षेपमा ८.३१ प्रतिशत हिस्सासहित यो प्रदेश निक्षेप सङ्कलनमा दोस्रो ठूलो प्रदेशका रूपमा रहेको ।


३. सरकारले कुन सालको शैक्षिक सत्रदेखि विद्यालयद्वारा कक्षा १ मा विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिन नपाउने व्यवस्था गरेको छ ?

वि.सं. २०८०

शिक्षा तथा मानव स्रोत विकास केन्द्रको प्रारम्भिक बालविकास शाखाले सो निर्णय गरी कार्यान्वयनका लागि सम्बन्धित निकायलाई निर्देशन दिएको ।

प्रवेश परीक्षाको विकल्पमा विद्यार्थी भर्नाका लागि अन्य उपयुक्त विधि अवलम्बन गर्न लगाउन पनि केन्द्रले निर्देशन दिएको । कक्षा १ मा भर्ना तथा प्रवेश परीक्षा तयारी कक्षा सञ्चालन गर्न पनि केन्द्रले रोक लगाएको ।

कुनै संस्थाले प्रवेश परीक्षा सञ्चालन गरेको वा नगरेको विषयमा आआफ्नो क्षेत्रभित्र अनुगमन गरी यस्ता कार्य हुन नदिन केन्द्रले सबै स्थानीय तह र जिल्ला समन्वय समिति तथा आवश्यक समन्वय एवं सहजीकरणका लागि सबै शिक्षा विकास तथा समन्वय एकाइलाई निर्देशन दिएको ।


४. सरकारद्वारा नेपाल राजस्व परामर्श विकास समिति गठन आदेश, २०७६ कहिले खारेज गरिएको हो ?

वि.सं. २०७९ असोज १२


५. फिफाले कुन विश्वकप फुटबल प्रतियोगितादेखि स्थानापन्न खेलाडीको व्यवस्था गरेको हो ?

नवौँ विश्वकप–१९७०

यही प्रतियोगितादेखि खेलमा रातो र पहेँलो कार्ड देखाउने नियम लागू भएको । 

नवौँ विश्वकपदेखि नै फिफा फेयर प्ले नियम लागू गरिएको । 


६. युरोप तथा अमेरिकी क्षेत्रबाहिर आयोजित पहिलो विश्वकप फुटबल कुन हो ?

१७औँ विश्वकप–२००२ (जापान र दक्षिण कोरियामा संयुक्त रूपमा)


७. फिफाले गोललाइन टेक्नोलोजी प्रयोगमा ल्याउने व्यवस्था कुन विश्वकपदेखि गरेको हो ?

२०औँ विश्वकप (सन् २०१४, ब्राजिल)


८. प्रदेश सभामा देशकै पहिलो महिला सभामुखमा चयन हुने नेत्री को हुन् ?

नन्दा गुरुङ (कर्णाली प्रदेश, नेकपा एमालेबाट समानुपातिक) 

प्रदेश सभाको २०७९ माघ १ मा बसेको बैठकमा सत्तारूढ गठबन्धनकी उम्मेदवार गुरुङले २४ मत प्राप्त गरी कर्णाली प्रदेशको दोस्रो सभामुख र नेपालको इतिहासमै पहिलो महिला प्रदेश सभा सभामुख बन्न सफल भएकी ।

प्रदेश सभाको पहिलो कार्यकालमा सातवटै प्रदेशमा सभामुख पुरुष चुनिएका थिए । 

गुरुङ सभामुखमा निर्वाचित भएपछि महिला सांसदले ‘समावेशी अभ्यासको सुन्दर नमुना’ भन्दै यसले महिलामा ऊर्जा थप्ने विश्वास व्यक्त गरेका । 


९. मधेश प्रदेश सभाको सभामुखमा को निर्वाचित भएका छन् ?

रामचन्द्र मण्डल 

वि.सं. २०७९ माघ ३ को बैठकमा सहभागी १०३ जना सदस्यमध्ये मण्डल (धनुषा निर्वाचन क्षेत्र १ (क), एमाले)को पक्षमा ७४ र विपक्षमा २९ मत परेको । 

त्यस्तै प्रदेश सभाको उपसभामुखमा जनमत पार्टीका प्रदेश सभा सदस्य बबिताकुमारी इसर निर्वाचित भएकी । उनले माघ ३ मा बसेको तेस्रो बैठकमा उपस्थित १०१ मध्ये ७२ मत प्राप्त गरेकी ।


१०. राजधानीबाट सबैभन्दा नजिक राष्ट्रिय निकुञ्ज भएको देश कुन हो ?

नेपाल

सन् १९७२ मा आरक्षका रूपमा स्थापना भई सन् २००० (वि.सं. २०५८) मा निकुञ्जमा परिणत भएको शिवपुरी राष्ट्रिय निकुञ्जको क्षेत्रफल १४४ व.कि.मि. रहेकोमा वि.सं. २०६५ पौष २३ मा नागार्जुन क्षेत्रको १५ व.कि.मि. क्षेत्रफल गाभी यसको क्षेत्रफल १५९ व.कि.मि. कायम भएको । 

वि.सं. २०२९ मा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन जारी भएको ।

नेपालमा सर्वप्रथम स्थापना भएको राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज (वि.सं. २०३०) हो ।

विश्व सम्पदा सूचीमा सूचीकृत नेपालका दुई राष्ट्रिय निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज र सगरमाथा राष्ट्रिय निकुञ्ज हुन् ।

नेपालको सबैभन्दा ठूलो राष्ट्रिय निकुञ्ज शे–फोक्सुन्डो (३५५५ व.कि.मि.) र सबैभन्दा सानो रा.नि. रारा (१०६ व.कि.मि.) रा.नि. हुन् ।

बर्दिया राष्ट्रिय निकुञ्ज सुरुमा कर्णाली वन्यजन्तु आरक्षका रूपमा स्थापना भएको । पछि बर्दिया वन्यजन्तु आरक्ष नामकरण गरियो भने वि.सं. २०४५ मङ्सिर २० मा बर्दिया राष्ट्रिय निकुञ्जका रूपमा घोषणा भएको । 

अमेरिकी संस्था वल्र्डल्यान्डको सहयोगमा स्थापना भएको राष्ट्रिय निकुञ्ज मकालु वरुण राष्ट्रिय निकुञ्ज हो ।

विश्व राष्ट्रिय निकुञ्ज सम्मेलन प्रत्येक १० वर्षको अन्तरालमा गर्ने गरिन्छ । 


११. २०७९ पौष मसान्तसम्म साक्षर घोषित जिल्लाको सङ्ख्या कति पुगेको छ ? 

६२

हालसम्म १५ जिल्ला अझै साक्षर हुन बाँकी रहेका । त्यसमा मधेश प्रदेशका आठ, कर्णालीका पाँच, सुदूरपश्चिम र लुम्बिनीका एक–एक जिल्ला रहेका । 

सरकारले दुई वर्षभित्र निरक्षरता उन्मूलन गरी आर्थिक वर्ष २०६५/६६ देखि नेपालमा साक्षरता अभियान सुरु गरेको थियो । 

आ.व. २०६५/६६ देखि अनौपचारिक शिक्षा केन्द्रमार्फत राष्ट्रिय साक्षरता अभियान, आ.व. २०६९/७० देखि साक्षर नेपाल अभियानलगायतका कार्यक्रम सञ्चालन गरिएको । 


१२. प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिताको उपाधि जित्ने टिम कुन हो ? 

सुदूरपश्चिम

२०७९ माघ ७ मा इटहरीस्थित जनता क्रिकेट पार्कमा सम्पन्न फाइनल खेलमा प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिमले उपाधि जितेको । 

च्याम्पियन बनेको सुदूरपश्चिमले उपाधिसहित पाँच लाख रुपियाँ प्राप्त गरेको । त्यस्तै उपविजेता प्रदेश १ ले तीन लाख रुपियाँ हात पारेको । 

सुदूरपश्चिम प्रदेशकी ओपनर तथा व्याट्सवुमन कविता कुँवर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट व्याट्सवुमनका साथै सुनसरी प्लेयर अफ दी च्वाइस घोषित भएकी । त्यस्तै उत्कृष्ट बलर सुदूरपश्चिमकै मनीषा चौधरी घोषित भएकी । 


१३. वि.सं. २०७९ माघ ६ मा प्रदान गरिएको नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार कसलाई प्रदान गरियो ? 

गायक आशिष सचिन 

त्यस्तै मनबहादुर मुखिया, दीप तुलाधर, दीपानारायण झा, प्रदीपराज पाण्डे, फणिन्द्र राई, विके राना, कन्हैयासिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई नातिकाजी राष्ट्रिय विशिष्ट सङ्गीत सम्मान प्रदान गरिएको । 

एकनारायण भण्डारी, कालीप्रसाद बास्कोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई नातिकाजी राष्ट्रिय सङ्गीत पुरस्कार प्रदान गरिएको । 

देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले र अस्मिता अधिकारीलाई नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार, २०७८ प्रदान गरिएको । 

सङ्गीत गुरु चन्दनकुमार श्रेष्ठलाई नातिकाजी राष्ट्रिय शास्त्रीय सङ्गीत पुरस्कार, देवी घर्तीलाई नातिकाजी राष्ट्रिय लोकसङ्गीत पुरस्कार र रविन कार्की ढलीलाई नातिकाजी राष्ट्रिय सङ्गीत संयोजक तथा वाद्य पुरस्कार प्रदान गरिएको । 

सञ्चारकर्मीद्वय डब्बु क्षेत्री र कुवेर गिरीलाई नातिकाजी राष्ट्रिय कला पत्रकारिता पुरस्कार प्रदान गरिएको । 


१४. प्रतिनिधि सभाको सभामुखमा को निर्वाचित भएका छन् ? 

देवराज घिमिरे

– २०७९ माघ ५ को प्रतिनिधि सभाको बैठकमा १६७ मतका साथ घिमिरे सभामुख निर्वाचित भएका । उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत प्राप्त गरेकी । 

घिमिरे प्रतिनिधि सभाको नवौँ सभामुखका रूपमा 

चयन भएका । 

वि.सं २०१३ मा ताप्लेजुङमा जन्मिएका घिमिरे २०७९ को निर्वाचनमा झापा २ बाट प्रतिनिधि सभा सदस्य 

निर्वाचित भएका । 

दुई दशकपछि प्रतिनिधि सभाको सभामुखमा चयन बहुमतीय प्रक्रियाबाट भएको हो । नेपालको संसदीय इतिहासमा यसअघि एक पटक मात्र द्विपक्षीय प्रतिस्पर्धा भएको थियो । २०५१ सालबाहेक अन्यमा एक उम्मेदवारी वा उम्मेदवारी फिर्तापछि सभाध्यक्ष चयन निर्विरोध भएको थियो । २०५१ सालमा नेकाका रामचन्द्र पौडेल बहुमतबाट निर्वाचित भएका थिए ।


१५. प्रतिनिधि सभाको उपसभामुखमा चयन हुने नेत्री को हुन् ?

इन्दिरा रानामगर 

प्रतिनिधि सभाको उपसभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद इन्दिरा रानामगर निर्वाचित भएकी । २०७९ माघ ७ मा बसेको प्रतिनिधि सभाको बैठकमा रानामगरको पक्षमा १६६ जना सांसदले समर्थन जनाएका थिए भने विपक्षमा ९७ जनाको मत परेको थियो । सामाजिक सेवाबाट राम्रो परिचय बनाएकी रानामगर सक्रिय राजनीतिमा संलग्न भएको तीन महिनामै सङ्घीय संसद्को उपसभामुख बन्न सफल भएकी । 


१६. प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा दोस्रो पटक मन्त्रिपरिषद् विस्तार कहिले गरियो ?

वि.सं. २०७९ माघ ३

उनले मन्त्रिपरिषद् विस्तार गरी २३ सदस्यीय बनाएका । २०७९ पौष १० मा प्रधानमन्त्री बनेका प्रचण्डले पौष ११ मा आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए ।

२३ सदस्यीय मन्त्रिपरिषद्मा बहुसङ्ख्यक प्रत्यक्षबाट निर्वाचित र नयाँ अनुहार मन्त्री बनेका छन् । जसअनुसार १६ जना नयाँ अनुहारमा एमालेबाट सहभागी उपप्रधानमन्त्री विष्णु पौडेल, ज्वालाकुमारी शाह र दामोदर भण्डारीबाहेक पदम गिरी, राजेन्द्रकुमार राई, विमला राई पौड्याल, भगवती चौधरी, हरिप्रसाद उप्रेती नयाँ अनुहार हुन् । 

त्यस्तै माओवादीबाट प्रधानमन्त्री प्रचण्ड, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाहेक सुदन किराँती, अमनलाल मोदी र राज्यमन्त्री सुशीला श्रीपाली नयाँ अनुहार हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट सहभागी उपप्रधानमन्त्री रवि लामिछानेसहित तीन मन्त्री र एक राज्यमन्त्री नयाँ अनुहार हुन् । राप्रपाका अध्यक्ष उपप्रधानमन्त्री राजेन्द्र लिङ्देन, कानुनमन्त्री ध्रुवबहादुर प्रधान र ऊर्जा राज्यमन्त्री दीपकबहादुर सिंहसहित तीन जना तथा जनमत पार्टीका अब्दुल खान पनि नयाँ अनुहार हुन् ।

प्रस्तुतकर्ता : टंक के.सी.