• १२ वैशाख २०८१, बुधबार

इनरुवा अस्पतालमा विवाद , छ महिनादेखि तलब रोक्का

blog

इनरुवा समाचारदाता 

इनरुवा, माघ ११ गते । जिल्ला अस्पातल इनरुवा सुनसरीको छ महिनादेखि बैठक बस्न नसक्दा अस्पतालको व्यवस्थापनमा समस्या भएको छ। अस्पताल व्यवस्थापन समितिको बैठक बस्न नसक्दा नयाँ उपकरण खरिददेखि कर्मचारीले पारिश्रमिक पाउनसमेत समस्या भएको छ। 

अस्पताल व्यवस्थापनले काम नगरेपछि मङ्गलबार सरोकारवालाहरूले सर्वपक्षीय छलफल गरेका छन्। छलफलमा अस्पताल प्रशासन र व्यवस्थापन समितिबीचको विवादको वास्तविकता सार्वजनिक गर्नुपर्ने, व्यक्तिका कारणले अस्पतालजस्तो संवेदनशील क्षेत्रलाई बन्धक बनाउनेको विरुद्ध भण्डाफोर गर्नुपर्ने, आर्थिक पारदर्शिता हुनुपर्नेलगायतका विषयमा छलफल भएको अधिकारकर्मी रमेश भट्टराईले बताउनुभयो।  भट्टराईले अस्पतालमा झन्डै एक करोडको खरिद तथा निर्माण कार्यमा संरचनागत सेटिङमार्फत प्राप्त हुने अतिरिक्त नाफाको आरोपसमेत बाहिर आएकाले समितिमाथि छानबिन गर्नुपर्ने बताउनुभयो । 

त्यसैगरी समाजवेसी वीरेन्द्रकुमार साहले जिल्ला अस्पताललाई एकल रूपमा चलाउन खोज्नेहरूलाई छानबिनको दायरामा ल्याई अस्पतालको सेवा, सुविधा र प्रभावकारी बढाउनुपर्नेमा जोड दिनुभयो।

स्थानीय लक्ष्मी साहले  सार्वजनिक सम्पत्ति अर्थात् जनताको सम्पदालाई आफूखुसी अनुकूल चलाउन खोज्नेका कारणले अस्पतालप्रतिको विश्वास उठ्दै गएको गुनासो गर्नुभयो। त्यसैगरी उद्योग वार्णिज्य सङ्घका पूर्वअध्यक्ष कैलाश पञ्चारियाले सबैको सरोकारका विषय स्वास्थ्य क्षेत्र भएकाले यसमा ढिलासुस्ती गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताउनुभयो। 

अस्पताल सङ्घर्ष समितिका संयोजक दिलीपचन्द साहुले प्राइभेट कम्पनीबाट ल्याएका सेक्युरिटी गार्ड फिर्ता गरेर समितिका केही स्वार्थीहरूले सेक्युरिटी गार्डका रूपमा नयाँ कर्मचारी भर्ना गर्ने र त्यसमा पनि आफ्नै मान्छे राख्ने मनसाय राखेकाले बैठक बस्न नसकेको कुरा बाहिर आएको बताउनुभयो।