• १६ चैत २०८०, शुक्रबार

खेल मिलेमतोमा आयोजकसहित १० जना संलग्न : सीआईबी

blog

महबुब आलम र आदिल अन्सारी ।

काठमाडौं, माघ १० गते । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले हालै त्रिवि मैदान कीर्तिपुरमा सम्पन्न नेपाल टी–२० क्रिकेट लिगमा खेल मिलेमतोमा १० जना संलग्न रहेको जनाएको छ । सीआईबीले मंगलबार पत्रकार सम्मेलन गरी ‘स्पट फिक्सिङ’ मा ६ विदेशी र चारजना नेपाली संलग्न भएको जानकारी दिएको हो ।

सीआईबीले प्रतियोगिताको आयोजना अधिकार पाएको भारतीय कम्पनी ‘सेभेन थ्रीस्पोर्ट्स’ का प्रमुख जतिन अलुवालिया नै खेल मिलेमतोको मुख्य योजनाकार रहेको जनाएको छ । सीआईबीले स्पट फिक्सिङमा संलग्न नेपालका पूर्व क्रिकेटर महबुब आलम र राष्ट्रिय टोलीका सदस्य आदिल अन्सारीलाई मंगलबार नै सार्वजनिक गरेको छ ।

क्रिकेटरद्वयलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो । प्रहरीले आलमलाई विराटनगर र अन्सारीलाई सप्तरीको राजविराजबाट पक्राउ गरेर काठमाडौं ल्याएको थियो । सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन अलुवालिया फरार रहेको पनि प्रहरीले जनाएको छ । 

सीआईबीले क्रिकेटर आलमले कम्तीमा दुईजना नेपाली खेलाडीलाई आर्थिक प्रलोभन देखाएर ‘स्पट फिक्सिङ’ को प्रयास गरेको प्रहरीले जनाएको छ । अन्सारीलाई ‘नो बल र वाइड बल’ फाल्नलाई फिक्सरबाट प्रस्ताव गरिएको अनुसन्धानबाट खुल्न आएको सीआईबीले उल्लेख गरेको छ ।

सीआईबीका अनुसार टिम व्यवस्थापककै निर्देशनमा एक विदेशी खेलाडीले एक सेसनमा निर्धारित रन मात्र बनाइ ‘स्पट फिक्सिङ’ गरेको र फिक्सिङमा टिम व्यवस्थापनै संलग्न रहेको पनि जनाएको छ । खेल मिलेमतोमा संलग्न अन्य आठ जनालाई पक्राउ गर्ने प्रक्रिया जारी रहेको सीआईबीका प्रवक्ता सन्जय थापाले जानकारी दिनुभयो । 

सीआईबीले खेल मिलेमतोको अनुसन्धानका लागि डिएसपी सुन्दर तिवारीको नेतृत्वमा अनुसन्धान तथा छानबिन समिति बनाएको थियो । जसमा पाँच जना प्रहरी अधिकृत रहनुभएको थियो । प्रहरीले पक्राउ परेका आलम र अन्सारीलाई राष्ट्रिय खेलकुद विकास ऐन अनुसार अनुसन्धानका लागि पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न म्याद थपिएको पनि जनाएको छ । 

गत पुस ९ देखि २९ गतेसम्म भएको प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीको सहभागिता थियो । नेपाल टी–२० लिग सञ्चालनका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले भारतको ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई आठ वर्षसम्म यस प्रतियोगिता सञ्चालनको जिम्मेवारी दिएको थियो । सीआईबीले नेपाल क्रिकेट सङ्घ (क्यान)का पदाधिकारीलाई पनि छानबिनको दायरामा ल्याउने जनाएको छ ।

जस बापत क्यानलाई ‘सेभेन थ्रीस्पोर्ट्स’ ले वार्षिक चार करोड १२ लाख ५० हजार रुपियाँ उपलब्ध गराउने गत जेठ ४ गते भएको लिग घोषणा  कार्यक्रममा क्यानका अध्यक्ष चतुरबहादुर चन्दले बताउनुभएको थियो । क्यानको साधारण सभाले ‘सेभेन थ्रीस्पोर्ट्स’ कम्पनीलाई रणनीतिक र कर्मसियल अधिकार मात्र प्रदान गरेको समेत चन्दको भनाइ थियो । 

तत्कालीन युवा तथा खेलकुद मन्त्री  महेश्वरजंग गहतराजले समेत यस लिग सञ्चालनका लागि क्यानलाई सहयोग गर्नुभएको थियो । घोषणा कार्यक्रममा पूर्व मन्त्री गहतराजले यस प्रतियोगिताले नेपाली क्रिकेटको स्तरमा सुधार गर्नुका साथै नेपालमा खेलकुदको माध्यमाबाट पर्यटन विकासमा समेत टेवा पुग्ने बताउनुभएको थियो ।

भारतीय कम्पनीलाई लामो समय लिग सञ्चालनको जिम्मेवारी दिँदा ठूलो आर्थिक चलखेल भएको विषय पटक पटक बाहिरिए पनि क्यान अध्यक्ष र तत्कालीन युवा तथा खेलकुद मन्त्रीले राम्रो कामको आलोचना गर्नु निन्दनीय भएको समेत बताउनुभएको थियो । खेल मिलेमतो भएको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी ) ले पनि छानबिन गरिरहेको छ ।