• ८ वैशाख २०८१, शनिबार

छैन भने कतै म तिम्रो हृदयको अन्तपुरमा छैन

blog

म तिम्रो नजिक, टाढा,

वरिपरि, जताततै छु 

चुल्होमा छु, चौकामा छु

वनमा छु, बुट्यानमा छु 

खेतमा छु, खलियानमा छु

आँगनमा छु,  मटानमा छु;


छैन भने कतै म तिम्रो हृदयको अन्तपुरमा छैन !


म तिम्रो गाउँको पाखामा छु, पहरामा छु

जँघारमा छु, छहरामा छु

पट्यारलाग्दो ढुङ्गे–बगरमा छु

धमिलिँदै गएको सगरमा छु; 


छैन भने कतै म तिम्रो प्रेमको सुगन्धमा छैन !


म तिम्रो निश्वासमा छु, उछ्वासमा छु 

भरोसामा छु, विश्वासमा छु

चित्कारमा छु, सित्कारमा छु

स्वीकारमा छु, तिरस्कारमा छु; 


छैन भने कतै म तिम्रो सम्मानको आसनीमा छैन !


म तिम्रो स्पन्दनमा छु, क्रन्दनमा छु

वर्जनामा छु, बन्धनमा छु

भावमा छु,  प्रभावमा छु

भ्रममा छु,  विभ्रममा छु; 


छैन भने कतै म तिम्रो चेतनाको यात्रामा छैन !


म तिम्रो चरणमा छु, शरणमा छु

अँगालोमा छु, जङ्घामा छु

आवेगमा छु,  उत्तेजनामा छु

उन्मादमा छु,  अवचेतनामा छु;


छैन भने कतै म तिम्रो सद्भावनाको परिधिमा छैन !


म तिमी सँगसँगै छु र नजिकै छु

तिमीतिरै छु, र जताततै छु

तिम्रो जितको साक्षी छु र

तिम्रो अहङ्कारको अचानो छु; 


हे पुरुष ! 

तिम्री कथित अर्धाङ्गिनी म !

तिम्रो अस्तित्वको अविभाज्य अङ्ग बनेर 

चारैतिर फैलिएकी छु; 


छैन भने कतै म तिम्रो हृदयको अन्तपुरमा छैन !