बागलुङ समाचारदाता
बागलुङ, माघ १० गते । बागलुङको गलकोट नगरपालिका–२, नरेठाँटीकी भीममाया विकले छ सन्तानलाई घरमै जन्म दिनुभयो। छवटा बच्चा जन्माउनुअघि उहाँले एक पटक पनि गर्भ परीक्षण गराउनुभएन।
यसका विविध कारण थिए। पहिलो कुरा पायकमा स्वास्थ्य संस्था थिएनन्। दोस्रो कुरा गर्भावस्थामा गर्भ परीक्षण गर्नुपर्छ भन्ने चेतना पनि भएको पाइँदैन। उहाँलाई गर्भ परीक्षण र भिडियो एक्स–रेबारे कसैले पनि सचेत गराएनन्। उहाँका आमा तथा सासूहरूले ‘काम गर्दागर्दै आफैँ बच्चा जन्मन्छन् चिन्ता गर्नु पर्दैन’ भनेर प्रोत्साहन गर्नुभएको थियो।
कुनै–कुनै बच्चा जन्मनुअघि स्वास्थ्यमा समस्या आउँदा पनि हेरचार र झारफुकमा विश्वास गरेर बस्नुभयो। भाग्यवश कुनै अप्रिय घटना भएनन्। गर्भावस्थामा कुनै स्वास्थ्य परीक्षणबिना नै छवटा बालबच्चा जन्माएकी विकले आफ्ना छोरी बुहारीलाई भने मासिक स्राव रोकिएकै दिनदेखि पटक–पटक गर्भ परीक्षण र स्वास्थ्य चौकीमा सुत्केरी हुन प्रोत्साहन गर्न थाल्नुभएको छ।
समय–समयमा गर्भ परीक्षण, आइरन चक्कीको प्रयोग, पोसिलो खानेकुरा खानुपर्ने तथा स्वास्थ्य संस्थामा सुत्केरी हुँदा जोखिम न्यूनीकरण हुने सचेतना प्राप्त गरेपछि उहाँले गाउँघरका छोरीबुहारीलाई स्वास्थ्य चौकीमा सेवा लिन सल्लाह दिन थाल्नुभएको हो।
गाउँमा गठन भएको घामपानी स्वास्थ्य आमा समूहमा आबद्ध भएपछि उहाँले प्रजनन स्वास्थ्य तथा गर्भावस्था, सुत्केरी अवस्थामा हुन सक्ने जोखिम र न्यूनीकरणका उपायबारे जानकारी प्राप्त गरेको बताउनुभयो।
“हाम्रो पालामा स्वास्थ्य चौकी थिएनन्, घरमै सुत्केरी हुन बाध्य थियौँ,” उहाँले भन्नुभयो, “सुत्केरी हुनु महिलाले अर्काे चोला पाउनु हो, स्वास्थ्य चौकीमा सुरक्षित हुने रहेछ। स्वास्थ्यकर्मीको निगरानीमा सुत्केरी हुँदा तत्काल आउन सक्ने जोखिम पनि कम गर्न सकिने रहेछ।”
स्वास्थ्य स्वयंसेविका भीममाया सधैँ अभिभावक र गर्भवती तथा सुत्ेकरीलाई स्वास्थ्य आमा समूहको बैठकमा गर्भावस्था र सुत्केरी अवस्थाको विषयमा जानकारी गराउनुहुन्छ। स्वास्थ्य संस्थामा सुत्केरी हुँदा सरकारले दिने सुविधा, आमा र बच्चाको ज्यान जोखिममा नपर्ने अवस्थाका विषयमा समेत स्वास्थ्य आमा समूहमा छलफल हुन्छ।
समूहमा आबद्ध उनीहरूले नै गर्भवती बुहारीलाई नियमित स्वास्थ्य जाँच र स्वास्थ्य चौकीमा सुत्केरी हुन प्रेरित गर्ने गरेको स्वास्थ्य स्वयंसेविका बिमिना परियारले जानकारी दिनुभयो। उमेरले ६० कटेका भीममाया विक, कोपिला नेपाली, छमकुमारी कुँवर घामपानी गाउँका उदाहरण मात्रै हुन्।
“मेरा छ छोराछोरी छन्, ऊ बेला स्वास्थ्य चौकी थिएनन्, कष्टले पाइयो, हुर्काइयो,” छमकुमारी कुँवरले भन्नुभयो, “जमाना फेरिए, अहिले छोरीबुहारीले नै जानेका छन्, बूढापाकाले पनि सम्झाउने गरेका छौँ।” घरमा हुने काममा यहाँका सासूआमाहरूले बुहारीलाई सघाउने गरेका छन्। पोषणयुक्त खाना घरमै बनाउने र खुवाउने काममा समेत यहाँका आमाहरू सचेत छन्।
नरेठाँटीमा घरमै सुत्केरी हुनेको सङ्ख्या शून्य छ। कुपोषित बालबालिकासमेत अहिलेसम्म नभेटिएको नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख जगन्नाथ सुवेदीले बताउनुभयो। समुदायस्तरमा गर्भावस्था र सुत्केरीको विषयमा सचेतना पुगेको उहाँको दाबी छ। बितेको एक वर्षमा स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा २८ जना स्वस्थ बच्चाको जन्म भएको थियो।
घामपानी गाउँका जस्तै नरेठाँटीका सबै गाउँका गर्भवतीले नियमित गर्भ परीक्षण गराउने गरेका छन्। पोषणको विषयमा पनि गर्भवती, सुत्केरी
महिला र उनीहरूको परिवार सचेत रहेको सुवेदीले बताउनुभयो। गलकोट नगरपालिकाले हरेक स्वस्थ आमा र बच्चाका लागि मापदण्डअनुसार गर्भ परीक्षण गरेका सुत्केरीलाई नेपाल सरकारले उपलब्ध गराउने गाडीभाडाबाहेक अतिरिक्त चार हजार पाँच सय रुपियाँ पोषणभत्ता उपलब्ध गराउँदै आएको छ।