• ८ पुस २०८१, सोमबार

मूर्तिबाट राम्रो आम्दानी

blog

शिवशङ्कर मिश्र 

बारा, माघ १० गते  । माटोको मूर्ति कालिगडहरू अहिले दिनभर ब्यस्त भएका छन्। सहरदेखि ग्रामीण भेगका कालिगडहरूले माघ १२ गते हुने सरस्वती पूजाका लागि सरस्वतीको मूर्ति बनाउन र सजाउन व्यस्त भएका हुन्। सिजनअनुसार विश्वकर्मा, दुर्गा, गणेश, सरस्वतीका मूर्ति बनाएर लाखौँ रुपियाँसम्म आम्दानी गर्ने गरेको सिम्रौनगढ नगरपालिका–११, कर्चोवा टोलका १७ वर्षीय निरञ्जनकुमार साह कानुले बताउनुभयो। 

गाउँमै भएको महायज्ञमा मूर्ति बनाउन बाहिरबाट आएका मूर्तिकारबाट सीप सिकेर आफूले पनि देवीदेवताको मूर्ति बनाउन थालेको कानुले बताउनुभयो। दुई जना दाजुको सहयोगमा बनाएको ४० वटा सरस्वतीको मूर्तिबाट साढे दुई लाख रुपियाँ कमाउने लक्ष्य लिएको उहाँको भनाइ छ। कानुले भन्नुभयो, “एक हजार पाँच सयदेखि सात हजार रुपियाँमा मूर्ति बिक्री गर्ने सम्झौता भइसकेको छ।”  

यसैगरी कलैया उपमहानगरपालिका–७, बैरिया टोलका ३३ वर्षीय रामकिशोर रामले सरस्वतीको मूर्ति बनाएर एक लाख रुपियाँभन्दा बढी आम्दानी गर्ने लक्ष्य लिएको बताउनुभयो। यस वर्ष ३० वटा सरस्वतीको मूर्ति बिक्री गरेर एक महिनाको मेहनतले लाखौँ रुपियाँ कमाउने लक्ष्य राखेको रामले सुनाउनुभयो। दुई हजारदेखि पाँच हजारसम्म मूर्ति बिक्रीको सम्झौता भएको छ। सजिलै काम तथा रोजगार नपाएपछि विगत नौ वर्षदेखि यसरी विभिन्न सिजनमा माटोको मूर्ति बनाएर आठ जनाको परिवार पाल्दै आएको रामले बताउनुभयो। 

यसैगरी कलैया उपमहानगरपालिका–१४, भौरा टोलका ५८ वर्षीय विन्देश्वरी ठाकुरले तीन छोराको सहयोगमा मूर्ति बनाएर परिवारको गुजारा चलाउँदै आउनुभएको छ। ३५ वर्षअगाडि बरियारपुरका मास्टर मदन कुशवहासँग मूर्ति बनाउने सीप सिकेर परिवारको लालनपालन गर्दै आएको उहाँको भनाइ छ। आफूले कलैयाका नारायण यादव, सुरेश मण्डल, पर्सा टोलका शम्भु ठाकुर, बर्वापर्सा टोलका ड्रेस पण्डितलगायत छ जनालाई यो सीप सिकाएर आत्मनिर्भर बनाएको ठाकुरले दाबी गर्नुभयो। 

यसैगरी सोही ठाउँ वडा नं. १ बस्ने सुरेन्द्रप्रसादले यस पटक ३५ वटा सरस्वतीको मूर्ति बनाएका छन्। सरस्वतीको मूर्ति बनाउने काममा कानु, राम, ठाकुर मात्र नभएर उनीहरू जस्तै कलैया, वीरगञ्जलगायतका ठाउँहरूमा नेपाली तथा भारतीय कालिगडहरूले सिजनअनुसार मूर्ति बनाएर परिवार पालेर राम्रो आम्दानी गर्दै आएका छन्।