सर्लाही समाचारदाता
सर्लाही, माघ १० गते । सर्लाहीको उत्तर–पूर्वी भेगस्थित ईश्वरपुर नगरपालिका–१२, कालिञ्जोरमा अज्ञात मानिसहरू गाउँमा आएर एक्कासि जग्गा नापजाँच गर्न थालेपछि स्थानीयले उनीहरूलाई पक्राउ गरी प्रहरीमा बुझाएका छन्।
भूमिसुधार र नापी कार्यालयको अभिलेखमा खयरमाराखोर भनी उल्लेख रहेको कालिञ्जोरस्थित दोङखोरिया क्षेत्रमा जग्गा नाप गर्न आएका सात जनालाई गाउँलेहरूले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन्। आफूहरूले तीन पुस्तादेखि भोगचलन गर्दै आइरहेको ऐलानी जग्गा एक्कासि देख्दै नदेखेको मानिस आएर जग्गा नाप्ने, फोटो खिच्ने, भिडियो बनाउनेजस्ता गतिविधि गर्न थालेपछि स्थानीयहरू भेला भएर नियन्त्रणमा लिएका हुन्।
आक्रोशित स्थानीयले सुरुमा उनीहरूलाई नियन्त्रणमा लिएर वडा कार्यालयमा पु¥याएका थिए। पछि ती सातै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय केशरगञ्जमा बुझाइएको कालिञ्जोरका वडाध्यक्ष देवीबहादुर खत्रीले बताउनुभयो।
बाराको जितपुरसिमरा उपमहानगरपालिका–११ का उमाशङ्कर साह, सिरहाको कर्जन्हा नगरपालिका–१ का राहुलकुमार साह, धनुषाको मिथिला नगरपालिका–९ का जयकुमार ठाकुर, बाराको जितपुरसिमरा उपमहानगरपालिका–१ का ज्ञानबहादुर लामिछानेलाई प्रहरीलाई बुझाइएको हो। महोत्तरीको मनरासिस्वा नगरपालिका–४ का धीरेन्द्र झा, धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ का विजयकुमार साह र बाराको जितपुरसिमरा उपमहानगरपालिका–११, का विनयकुमार चौधरीलाई पनि बुझाइएको छ। कार चढेर आएका उनीहरूको साथबाट पाँच लाख रुपियाँ नगदसमेत बरामद भएको छ।
अचानक गाउँमा आएर विभिन्न धाकधम्की, डरत्रास देखाएपछि नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको स्थानीयको भनाइ छ। वडाध्यक्ष खत्रीले भन्नुभयो, “पूरै बस्तीको जग्गा आफूहरूको हो भन्दै नापजाँच गर्न थालेपछि उनीहरूलाई गाउँलेले नियन्त्रणमा लिएका हुन्। हामीले वडा कार्यालयमा लगेर उनीहरूसँग सोधपुछ गर्दा उनीहरूका गतिविधि र बोली शङ्कास्पद देखियो, त्यसपछि प्रहरी बोलाएर जिम्मा लगायौँ।” प्रहरीले यस घटनाका सम्बन्धमा अनुसन्धान जारी रहेको जनाएको छ।
सर्लाहीका प्रहरी उपरीक्षक नरेशराज सुवेदीले नियन्त्रणमा रहेका व्यक्तिहरूसँग सोधपुछ भइरहेको बताउनुभयो। “केही मानिसहरू आएर आफूहरूलाई थाहै नदिई जग्गा नाप्न थालेको र त्यसपछि आफूहरूले नियन्त्रणमा लिएको भनी स्थानीयहरूले भनेका छन्, वास्तविकता के हो भनी हामी पनि बुझ्दै छौँ,” प्रहरी उपरीक्षक सुवेदीले भन्नुभयो।
स्थानीयहरूले जग्गा कारोवारीहरू आएर अचानक आफूहरूलाई डर त्रास देखाएर जग्गा हडप्न खोजेको बताएका छन्। प्रहरी नियन्त्रणमा रहेकाहरूसँग के–कस्ता कागजात छन् भनी प्रहरीले केही खुलाएको छैन। गाउँलेले चिन्दै नचिनेको मानिसहरू आएर नापेको जग्गाको कागजी अवस्था कुन अवस्थामा छ भनी बुझ्ने काम भइरहेको प्रहरीले जनाएको छ। घटनापछि सोमबार कालिञ्जोरबाट ठूलो सङ्ख्यामा स्थानीयवासी बयलबासस्थित इलाका प्रहरी कार्यालयमा आइपुगेका थिए।