• ८ पुस २०८१, सोमबार

विद्यालयलाई पटक–पटक जग्गा दान

blog

जनकपुरधाम समाचारदाता 

जनकपुरधाम, माघ १० गते । धनुषाका साह परिवारले ४७ वर्षपछि एक प्राथमिक विद्यालयलाई दोस्रो पटक जग्गा दान गरेका छन्। २०३२ सालमा सोही परिवारले उपलब्ध गराएको जग्गामा स्थापना भएको उक्त विद्यालयलाई माध्यमिक १२ कक्षासम्म बनाउन ४७ वर्षपछि साह परिवारले पुनः जग्गा दान गरेका हुन्। 

धनुषा जिल्लाको सबैला नगरपालिकामा अवस्थित जनता राष्ट्रिय प्राथमिक विद्यालयलाई माध्यमिक बनाउन दुई बिघा जग्गा आवश्यक रहेकाले सोही पालिका निवासी साह परिवारका दाजुभाइले जग्गा दान गरेका हुन्। 

सबैला नपा वडा नं. ११ निवासी रामएकवाल साह, रामभरत साह र विजयशङ्कर साहले जग्गा दान गर्नुभएको हो। बुवा रामसागर साहका नाममा सगोलमा रहेको पाँच कट्ठा जग्गा, रामदेव साहले एक कट्ठा १८ धुर र श्यामकिशोर साहले पाँच कट्ठा गरी साह परिवारले ११ कट्ठा १८ धुर जग्गा दान गरेका छन्। दान गरिएको जग्गाबाहेक साह परिवारले एक बिघामा रहेको पोखरीसमेत सोही विद्यालयलाई दान गरेका छन्।

साह परिवारले विद्यालयलाई पुनः जग्गा दान गरेपछि उक्त विद्यालयको नाम परिवर्तन गरी केश्वर साह गेनियादेवी राष्ट्रिय माध्यमिक विद्यालय हुने निर्णयसमेत भएको छ। साथै दान गरेको पोखरीको चारैतिर डिलमा बनाइएको घाटको नाम साह परिवारका सदस्यका नामबाट नामकरण गरिने निर्णयसमेत भएको छ। 

विद्यालय भवन निर्माणका लागि वडाले ४४ लाख र नगरपालिकाले ६० लाख गरी एक करोड चार लाख रुपियाँ बराबरको बजेट छुट्याइएको वडा नं. ११ का अध्यक्ष सरोज यादवले जानकारी दिनुभयो।

माघ ८ गते आइतबारका दिन जनता राष्ट्रिय प्राथमिक विद्यालय, इनरबाको प्राङ्गणमा बसेको सर्वपक्षीय बैठकमा जग्गा दान गर्ने निर्णय भएको छ। २०३२ सालमा विद्यालय स्थापनाका लागि साह परिवारले डेढ बिघा जग्गा उपलब्ध गराएका थिए।