यादवराज पुरी
रौतहट, माघ ८ गते । विभिन्न जातका फलफूलको विरुवा उत्पादन गर्ने रौतहटको किसानले सञ्चालन गर्दैआएका नर्सरी व्यवसाय सङ्कटमा परेको छ । नर्सरीमा उत्पादित विरुवाको उचित मूल्य पाउन छाडेपछि व्यवसाय सङ्कटमा परेको हो ।
जिल्लाको कटहरिया नगरपालिका –३ बिर्तीप्रष्टोकामा ९० प्रतिशतभन्दा बढी किसान नर्सरी व्यवसायमा संलग्न छन् । हरेकका खेतबारीमा विभिन्न जातका फलफूलका विरुवा उत्पादन गरिएको छ । बिर्तीप्रष्टोकामा उत्पादन भएको विरुवा स्थानीयस्तरदेखि मुलुकको नारायणघाट, पोखरा, वीरगञ्ज, जनकपुरलगायत काठमाडौंका विभिन्न नर्सरीमा समेत विक्री हुनेगरेको विजय नर्सरीका सञ्चालक विजय रौनियारले बताउनुभयो ।
उहाँले भन्नुभयो, “चार पाँच वर्ष यता फलफूलका विरुवाको माग कम हुँदैजाँदा मूल्यमा निकै ह्रास आएको छ । जसका कारण नर्सरी व्यवसाय पलायन हुने अवस्थामा पुगेको छ ।” चार–पाँच वर्ष अघिसम्म ५० रुपियाँमा थोक बिक्री हुने रुखकटहर, अम्बा, बयर, सरिफा (सीता फल) लगायतका विरुवालाई अहिले २० देखि २५ रुपियाँमा विक्री गर्न पनि मुस्किल परेको नर्सरी व्यवसायी जीवन रजकले बताउनुभयो ।
विभिन्न जातका आँपमध्ये छिटो उत्पादन दिने अगौटे जातको ‘बम्बई’ (हरियो र फहेँलो), ‘गुलाबखास’ जातका विरुवा प्रतिगोटा एक सयदेखि १५० रुपियाँमा थोक बिक्री गरिन्थ्यो । आम्दानी पनि मनग्य थियो । अहिले सो जातका आँपका विरुवा ५० रुपियाँमा पनि बिक्री हुन सकेको छैन ।
विरुवाको मूल्य पनि कम हुनु र बिक्री एक्कासी घट्नुले आर्थिक सङ्कट परेको नर्सरी व्यवसायीहरुको भनाइ छ । लामो समयदेखि नर्सरी व्यवसाय सञ्चालन गर्दै आउनुभएका अर्का व्यवसायी जयनाथ साहका अनुसार नर्सरीमा हुर्काइएका फलफूलका विरुवाले उचित मूल्य नपाउँदा नर्सरीमा काम गर्ने मजदुरको समयमा मजदुरी दिन सकिएको छैन ।
फलफूल खेतिबाट नियमित आम्दानी नहुनु, प्राविधिक ज्ञानको अभावले उत्पादनमा ह्रास आएको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख कमलदेव कुशवाहाले बताउनुभयो । उहाँका अनुसार व्यापकरुपले खेति नगर्नु, फलफूल खेतिप्रति कम आकर्षण हुनु लगायतका कारणले फलफूलका विरुवाको माग कम हुन गई मूल्यमा गिरावट आएको छ ।