काठमाडौं, माघ ८ गते । अन्नपूर्ण क्लब (आरसिटी) खुल्ला फिडे रेटिङ बुद्धिचाल प्रतियोगिताको उपाधि फिडे मास्टर रुपेश जैसवालले जित्नुभएको छ । अन्नपूर्ण क्लब (आर सिटी) को ९०औँ वार्षिकोत्सवको अवसरमा आयोजित प्रतियोगिताको आठौँ चरणको खेलमा रुपेशले फिडे मास्टर क्षितिज भण्डारी र नवौँ चरणको खेलमा नेपाल च्याम्पियनसँग बराबरी खेल्नुभएको थियो ।
उहाँले प्रतियोगितामा सात जीत र दुई बराबरी खेल्दै आठ अङ्कसहित उपाधि जित्नुभएको हो । उपाधिसँगै रुपेशले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । नेपाल च्याम्पियन पुरुषोत्तम चौलागाईं दोस्रो हुनुभयो ।
चौथो चरणमा पराजित पुरुषोत्तमले बाँकी खेलमा राम्रो नतिजा निकाल्दै सात अङ्क जोड्नुभयो । उहाँले २० हजार रुपियाँ पुरस्कार पाउनुभयो । फिडे मास्टर क्षितिज भण्डारी ७ अङ्क सहित तेस्रो हुनुभयो । उहाँले १० हजार रुपियाँ पाउनुभयो ।
महिलातर्फ काठमाडौकी विनीता कपाली पहिलो र सिन्दीरा जोशी दोस्रो हुनुभयो । झापाकी पुनम प्रसाईँ तेस्रो हुनुभयो । भेट्रानतर्फ भक्तपुरका गणेशमान दुवाल, काठमाडौका जनार्दन श्रेष्ठ र पुण्यमान कर्माचार्य पहिलो, दोस्रो र तेस्रो हुनुभयो ।
यू–१६मा सुप्रभ सागर श्रेष्ठ र यू–१४ तर्फ पुरुषोत्तम सिलवाल उत्कृष्ट हुनुभयो । छात्रतर्फ तिलिङटार माविका पूर्णिमा गुरुङ पहिलो हुनुभयो । चार दिने प्रतियोगितामा ४० जिल्लाका एक सय ३८ खेलाडीको सहभागिता रहेको थियो।