• १२ मंसिर २०८१, बुधबार

सल्लेनी वनमा मदन पार्क

blog

रामेछाप समाचारदाता

रामेछाप, माघ ८ गते । रामेछापको खाँडादेवी गाउँपालिका–५, पकरबासको सल्लेनी सामुदायिक वनमा जननेता मदन भण्डारीको स्मृतिमा पार्क निर्माण भइरहेको छ । 

गाउँपालिकाले विनियोजन गरेको १० लाख रुपियाँबाट सुरु गरिएको पार्क परिसरमा खेल मैदानलगायतका केही संरचना निर्माण गरिएको थियो । त्यसपछि बागमती प्रदेश सरकारको ५० लाख रुपियाँ बजेटबाट पार्क निर्माणको काम गरिएको सल्लेनी सामुदायिक वन उपभोक्ता समूहका कोषाध्यक्ष घनश्याम सार्कीले बताउनुभयो । 

“प्रदेश सरकारको बजेटबाट पार्कभित्र मदन भण्डारीको प्रतिमा निर्माण, शौचालय, तारबार लगाउने काम गरिएको छ,” उहाँले भन्नुभयो । पार्क निर्माणका लागि अहिले रकम अभाव भए पनि जे जति सकिन्छ सकेको काम गर्ने र काम निरन्तर अघि बढाउने उहाँले बताउनुभयो । चार करोड ४३ लाख रुपियाँको लागत अनुमान रहेको पार्क निर्माणमा अहिलेसम्म गाउँपालिकाको १० लाख र प्रदेश सरकारको ५० लाख रुपियाँ रकम खर्च भइसकेको खाँडादेवी गाउँपालिका–५ का वडाध्यक्ष मनोज पौडेलले बताउनुभयो । 

उहाँले भन्नुभयो, “यो वर्ष पनि वडाबाट थप १० लाख रुपियाँ र गाउँपालिकाको अध्यक्षसँग जनता कार्यक्रमबाट १० लाख रुपियाँ विनियोजन भएर काम अन्तिम चरणमा पुगेको छ ।” यो पार्कलाई काठमाडौँबाट खाँडादेवी आउने र मन्थलीबाट खाँडादेवी जाने पर्यटकको एउटा गन्तव्य थलोका रूपमा विकास गरिने उहाँले बताउनुभयो ।