• १२ साउन २०८१, शनिबार

पर्वले संस्कृतिको संरक्षण र संवर्द्धनमा प्रेरणा मिल्छ: अध्यक्ष ओली

blog

काठमाडौं, माघ ८ गते । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रित्ती, परम्परा र संस्कृतिको संरक्षण र संवर्द्धन गर्दै अघि बढ्न प्रेरणा प्रदान गर्ने बताउनुभएको छ । 

सोनाम ल्होछार (तवार ल्हो) को शुभकामना सन्देश दिनुहुँदै उहाँले विभिन्न संस्कृतिमा आधारित यस्ता पर्वले मुलुकको राष्ट्रिय एकता, पारस्परिक सामाजिक सद्भाव र सहिष्णुताका मौलिकका आधार रहेको उल्लेख गर्नुभयो । 

संविधानले विविध भाषा तथा संस्कृति विषयलाई मौलिक हकका रूपमा सुनिश्चित गरेको भन्दै उहाँले विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको बताउनुभयो । 

अध्यक्ष ओलीले नेपाल सुन्दर देशको बहुसांस्कृतिक विशेषता मौलिक पुँजीको रूपमा रहेको उल्लेख गर्दै एकता र सहिष्णुताको विशेषतालाई समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने बताउनुभयो । सन्देशमा उहाँले लोकतन्त्रलाई राजनीतिक अधिकारको सङ्कुचित परिभाषाबाट माथि उठाउँदै जनताका सम्पूर्ण आवश्यकता र अधिकार परिपूर्तिको जीवनमूल्य समेटिएको परिपूर्ण लोकतन्त्रका रूपमा व्यवहारमा अनूदित गर्न चाहेको बताउनुभयो ।

“हामी जनताको जीवनमा परिवर्तन ल्याउन देशलाई सुशासनयुक्त, पछौटेपनयुक्त, गरिबीरहित, सुशिक्षित, आधुनिक, समृद्ध र सुविधा सम्पन्न बनाउन आफूले लिएको अग्रसरतालाई अझ असाधारण र द्रुतगतिलाई अघि बढाउन चाहन्छौँ”, उहाँले सन्देशमा भन्नुभएको छ,  “समृद्ध नेपाल, सुखी नेपालको राष्ट्रिय आकाङ्क्षालाई पूरा गर्न आआफ्नो ठाउँबाट योगदान गर्न सबैमा आग्रह गर्दछु ।”