• १२ मंसिर २०८१, बुधबार

सुरक्षा पनि दियो स्मार्ट लाइटले

blog

दोलखा समाचारदाता

दोलखा, माघ ८ गते । दोलखाको भीमेश्वर नगरपालिकाले सदरमुकाम चरीकोटको बजार क्षेत्रमा जडान गरेको ‘स्मार्ट लाइट’ले प्रकाशसँगै सुरक्षा पनि दिएपछि स्थानीय व्यवसायी प्रसन्न भएका छन् । 

सदरमुकामको मुख्य सातादोबाटो र पशुपतिडाँडामा जडान गरिएका लाइटले व्यवसायीलाई सुरक्षित बनाएको छ । सातादोबाटोका व्यवसायी ऋषिप्रसाद न्यौपानेले भन्नुभयो, “बत्तीको उज्यालोले रातभर सुरक्षाको पनि काम गरिदिएको छ । रातिको चोरीचकारीसमेत बन्द भएको छ । न हुलदङ्गा, न झैझगडा; बजार शान्त बनेको छ ।” 

त्यस्तै पशुपतिडाँडाका व्यवसायी नारायण श्रेष्ठले भन्नुभयो, “साँझ पर्नासाथ पसल बन्द नगरुन्जेल कसैले केही गर्छ कि भन्ने शङ्का लाग्थ्यो । डरैडरले रातभर केही भयो कि भनेर सधैँ लिनुपर्ने चिन्ता यो बत्तीले हटाइदिएको छ ।” 

नेपाल प्रहरीलाई पनि सुरक्षा प्रदान गर्न यो बत्तीले सहयोग पुगेको छ । सातदोबाटो प्रहरी चौकीका प्रमुख मोहन पुलामीले पनि बत्ती जडान भएदेखि नराम्रा घटना नभएको बताउनुभयो ।

नगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानीमा यो लाइट जडान गरिएको हो । एक करोड ३९ लाख रुपियाँ लागतमध्ये ८० लाख रुपियाँमा जडान गर्न ठेक्का सम्झौता भएअनुसार काम सम्पन्न भएको हो । कोरोना भाइरस सङ्क्रमण जोखिमका कारण दुई वर्ष ढिला भए पनि जडान गर्ने काम सम्पन्न भएको छ । 

स्मार्टको विशेषता बजारमा भीडभाड हुँदा चहकिलो र भीड नहुँदा मधुरो बल्ने गर्छ । भीडभाडमा यसले सुरक्षाको अनुभूति पनि दिने नगरका इन्जिनियर सुरेश राउतले बताउनुभयो । बजारका मुख्य चोक सातदोबाटो र पशुपतिडाँडामा १६ मिटर अग्लो पोलमा दुुई सय वाट क्षमताका आठवटा लिड भएको हाइमास लाइट जडान गरिएको छ । पाँच ठाउँमा दुईतिर र ६३ पोलमा एकातिर रहेको बत्ती जडान गरिएको छ ।