• १२ मंसिर २०८१, बुधबार

तम्घासलाई हर्न निषेधित क्षेत्र बनाइँदै

blog

रमेश विश्वकर्मा 

गुल्मी, माघ ७ गते । गुल्मीको तम्घास बजारलाई हर्न निषेधित क्षेत्र बनाइने भएको छ । रेसुङ्गा नगरपालिकाको मुख्यबजार एवम् जिल्लाको सदरमुकाम तम्घासलाई हर्न निषेधित क्षेत्र बनाउने निर्णय गरेको हो । 

रेसुङ्गा नगरको बजारक्षेत्रलाई व्यवस्थित र प्रदूषणरहित सहर बनाउने उद्देश्यले यस्तो निर्णय गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको कार्यालयमा फलफूल व्यवसायी, यातायात व्यवसायी, हाट बजार सञ्चालक, फेन्सी कपडा व्यवसायी, नेपाल चेम्बर अफ कमर्स, उद्योग वाणिज्य सङ्घसँग छलफल गरिएको हो । 

छलफलबाट आएका समस्या समाधानका लागि व्यापारी एवम् व्यवसायी, ट्राफिक प्रहरी, प्रहरी र नगरपालिका बीचमा छलफल भएको छ । सबैको सहयोगमा तम्घासबजार क्षेत्रलाई प्रेसर हर्न निषेधित क्षेत्र बनाउने निर्णय गरिएको रेसुङ्गा नगरपालिकाका मेयर खिलध्वज पन्थीले बताउनुभयो । 

त्यस्तै, दर्ता नभई अव्यवस्थित तवरले फैलिएको घुम्ती व्यापारलाई यथाशीघ्र नियमन तथा कारबाही प्रक्रिया अगाडि बढाइ व्यवस्थित गर्ने निर्णय भएको छ । छलफलमा नगरभित्रका विभिन्न वडाहरू र धार्मिक पर्यटकीय क्षेत्र रेसुङ्गामा आवत–जावत गर्नका लागि यातायातको समस्यालाई समाधान गर्न यातायात व्यवसायीहरू सहमत भएका छन् ।