• १२ साउन २०८१, शनिबार

प्रतिनिधि सभा बैठकमा सभामुखको रुलिङ चल्छ : उपप्रधानमन्त्री लिङ्देन

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ७ गते । उपप्रधानमन्त्री एवम् ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङदेनले जनमत पार्टीका अध्यक्ष सीके राउतले संसदीय मर्यादा विपरीत संसदमा आफैँले सहिदहरूको सम्मानमा  मौनधारण गर्न लगाउनु संसदीय मूल्य मान्यताअनुकुल नभएको बताउनुभएको छ । प्रतिनिधि सभा बैठकमा आज सम्बोधन गर्नुहुँदै उहाँले सो कुरा बताउनुभएको हो ।

मधेशका सहिदहरूप्रति सरकार र सांसदले सम्मान नगरेको भन्दै गत माघ ५ गते बसेको प्रतिनिधि सभा बैठकमा जनमत पार्टीका अध्यक्ष राउतले बैठकमा सांसदहरूलाई मौनधारण गर्न लगाउनु भएको थियो । त्यो काम संसदीय मर्यादा र नियमविपरित भएकाले प्रधानमन्त्री पुष्पकमल दाहालसहित आफूहरूले मौन धारण गर्ने काममा सहभागी नभएको उहाँले प्रष्ट पार्नुभयो । उहाँले विशेष परिस्थितिमा सभामुखले गरेको रुलिङलाई मात्रै संसदमा मान्नुपर्ने परिपाटी रहेको बताउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष समेत रहनु भएका लिङदेनले आफूहरूले सो क्रममा सहिदहरूलाई अनादर गरेको भनेर भ्रममा नपर्न पनि आग्रह गर्नुभयो । 

उहाँले भन्नुभयो, ‘माघ ५ गते बैठक थियो, त्यहाँ मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने, मधेशका शहिदहरुप्रति सम्मान गर्ने जुन विषय उठेको थियो, यहाँ उठेन र नउठेको विषय बाहिर प्रचारमा आइरहेको छ । हामी उठेनौँ ।’ मधेश आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति हाम्रो सम्मान छैन भन्ने अर्थमा प्रचार गरिएको भन्दै उहाँले त्यस्तो नभएको प्रष्ट पार्नुभयो । संसद्को मर्यादा, नियम हुन्छ । रुलिङ सभामुखको चल्छ, त्यसैले आफूहरू नउठेको उहाँको भनाइ छ ।

संसदमा सभामुखको रुलिङ चल्छ, उहाँले रुलिङ गर्नुभएको भए प्रधानमन्त्री पनि उठ्नुहुन्थ्यो, म पनि उठ्ने थिएँ, हामी सबै उठेर सम्मान प्रकट गर्ने थियो, तर यहाँ संसद्को नियम विपरीत भयो त्यसैले हामी उठेनौँ उहाँले प्रष्ट पार्नुभयो ।