• ३ जेठ २०८१, बिहिबार

प्रदेश–१ लाई हराउँदै सुदूरपश्चिम च्याम्पियन

blog

उपाधि विजेता सुदूरपश्चिम टोली । तस्बिर : क्यान

काठमाडौं, माघ ७ गते । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिम प्रदेशले जितेको छ । इटहरी स्थित जनता क्रिकेट पार्क मैदानमा शनिबार भएको फाइनल खेलमा सुदूरपश्चिमले प्रदेश–१ लाई ६ विकेटले हरायो । 

प्रदेश–१ले दिएको एक सय दुई रनको विजयी लक्ष्य पछ्याएको सुदूरपश्चिमले १९.५ ओभरमा लक्ष्य भेट्टाएको थियो । सुदूरको जितमा सम्झना खड्काले अविजित २७ रन बनाउनुभयो । डोली भट्टले २२, कविता जोशी १९ र कविता कुँवरले १२ रन बनाउनुभयो । बलिङमा प्रदेश–१ का सबनम राई, सङ्गीता राई, रुबिना क्षेत्री र हिरान्मायी रोयले एक एक विकेट लिनुभयो । 

यसअघि पहिले ब्याटिङ गरेको प्रदेश–१ ले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो । प्रदेश–१ का लागि काजल श्रेष्ठले अविजित ४८ रन बनाउनुभयो । अप्सरी बेगमले १५ र कप्तान रुबिना क्षेत्रीले १४ रन जोड्नुभयो ।

बलिङमा सुदूरपश्चिमका मनिषा चौधरीले दुई विकेट लिनुभयो । ऋतु कोनुजियाले एक विकेट लिनुभयो । उपाधिसँगै सुदूरपश्चिम प्रदेशले पाँच लाख रुपियाँ पुरस्कार पाएको छ । उपविजेता प्रदेश–१ ले तीन लाख रुपैयाँ प्राप्त गरेका छ ।

प्रतियोगितामा सुदूरपश्चिमकी ब्याटर कविता कुँवर सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभयो । उहाँले ३० हजार रुपियाँ पुरस्कार पाउनुभयो । कविताले ‘सुनसरी प्लेयर अफ दि च्वाइस’ उपाधिसहित स्कुटर पुरस्कार पाउनुभयो । उहाँ उत्कृष्ट ब्याटर पनि चुनिनुभयो ।

उत्कृष्ट बलर सुदुरपश्चिमकै मनिषा चौधरी हुनुभयो । उत्कृष्ट ब्याटर र बलरलाई जनही २० हजार रुपियाँ पुरस्कार प्रदान गरियो । नेपाल क्रिकेट सङ्घ (क्यान) ले आयोजना गरेको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।