काठमाडौं, माघ ७ गते । थाइल्याण्डको बैंककस्थित ह्वामार्क इन्डोर स्टेडियममा जारी एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपको क्वार्टरफाइनल नेपालका लालप्रसाद उप्रेती र इन्द्रबहादुर सुनारले हार खेप्नुभएको छ ।
पुरुषतर्फ ४८ केजी तौल समूहमा लालप्रसाद फिलिपिनी खेलाडी दुरेन्टमार्क लेफ्चरसँग ५–० अङ्कको आधारमा पराजित हुनुभयो । ५७ केजी तौल समूहमा इन्द्रबहादुर सुनार मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग आरएसिको आधारमा पराजित हुनुभयो । सुनारको अन्तर्राष्ट्रिय प्रतियोगितामा तेस्रो पटक सहभागिता हो । लालप्रसाद पहिलो पटक सहभागी बन्नुभएको हो ।
नेपालबाट सहभागी मुक्केबाजहरू क्रमशः महिला ४८ केजी तौल समूहमा सुस्मा तामाङ, ५७ केजी तौल समूहमा हेमा राई र ७५ केजी तौल समूहमा त्रिशा जवेगु सेमिफाइनलमा प्रवेश गरिसक्नुभएको छ । पुरुषतर्फ ८६ केजी तौल समूहमा विजयले इन्डोनेशियन मुक्केबाज मोसकिता माइकलसँग प्रतिस्पर्धा गर्नुहुनेछ ।
एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा कम्बोडिया, चीन, इन्डोनेसिया, इराक, काजकिस्तान, कुवेत, किर्गिस्तान, लाओस, मलेसिया, मङ्गोलिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, साउदी अरब, सिंगापुर, श्रीलङ्का, ताजिकिस्तान, आयोजक थाइल्याण्ड, उज्वेकिस्तान र भियतनाम गरी २० देशको सहभागिता रहेको छ ।