काठमाडौं, माघ ७ गते । वङ्गबन्धु शेख मुजिब ढाका म्याराथनमा सहभागी भई नेपाली एथलेटिक्स टोली शनिबार स्वदेश फर्किएको छ । बङ्गलादेशको ढाकामा शुक्रबार भएको प्रतियोगितामा १० नेपाली खेलाडीले फुल र हाफ म्याराथनमा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले एक स्वर्ण र दुई कांस्य पदक जितेको थियो ।
नेपालकी पुष्पा भण्डारीले म्याराथनमा राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जित्नुभएको थियो । दक्षिण एसियाली स्तरको प्रतिस्पर्धामा पुष्पाले सन् २०२१ मा पनि स्वर्ण जित्नुभएको थियो । सन् २०२२ मा भने पुष्पा कांस्यमा सीमित हुनुभएको थियो । प्रतियोगितामा नेपालकै विन्द्राधन्के श्रेष्ठले सोही स्पर्धामा कांस्य जित्नुभयो ।
गोपीचन्द्र पार्की हाफ म्याराथनमा कांस्य जित्नुभयो । स्वदेश फर्किएको टोलीलाई नेपाल एथलेटिक्स सङ्घका पदाधिकारी लगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।