• १२ साउन २०८१, शनिबार

इन्दिरा राना मगरको पक्षमा मतदान गर्न सांसद गौतमको प्रस्ताव

blog

शनिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतम ।

काठमाडौं, माघ ७ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोविता गौतमले उपसभामुख पदमा उम्मेदवारी दिनुभएको सांसद इन्दिरा रानालाई मतदान गर्न सांसदसमक्ष प्रस्ताव राख्नुभएको छ । शनिबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद राना उपसभामुख बन्दा उक्त पदको गरिमा बढ्ने बताउनुभयो ।

‘‘माननीय इन्दिरा राना मगर यस गरिमामय सदनको उपसभामुखको कुर्सीमा बस्नु भनेको, उहाँको योग्यताको कदर मात्र होइन । बरु उपसभामुखको कुर्सी नै सम्मनानीत हुने हो ।,’’ उहाँले भन्नुभयो, ‘‘लोकतन्त्र र संविधानको सर्वोच्चताबारे उहाँका स्पष्ट विचार छन् । यस सदनको गरिमा र पदको जिम्मेवारीलाई उहाँले अत्यन्त कुशलतापूर्वक निभाउन सक्नुहुन्छ भन्ने सबै भन्दा बढी विश्वस्त त म नै छु ।’’

सांसद गौतमले इन्दिरा राना मगर संसदमा नयाँ अनुहार भए पनि समान रूपान्तरणको अथक प्रयासपछि राजनीतिमा आएको व्यक्ति भएको जानकारी दिनुभयो ।

सांसद मगरले कारागारमा हुने बुबाआमाको बालबालिकाको पालन पोषण र शिक्षादीक्षामा काम गर्दै आउनुभएको उहाँले बताउनुभयो । साथै उहाँले उपसभामुखको काम कर्तव्यलाई बलियो बनाउन सांसद मगरले महत्त्वपूर्ण भूमिका खेल्नुहुनेमा आफू विश्वस्त रहेको पनि बताउनुभयो ।