• १३ असोज २०८१, आइतबार

टाइगर रिसोर्टले सार्वजनिक जग्गा मिचेको ठहर

blog

रुपन्देहीमा सञ्चालित पाँचतारे टाइगर प्यालेस रिसोर्ट । तस्विरः लक्ष्मण पौडेल

लक्ष्मण पौडेल

भैरहवा, माघ ७ गते । जिल्ला अदालतले रुपन्देहीको तिलोत्तमा नगरपालिका –१७, स्थित कोटिहवामा सञ्चालित विदेशी लगानीको पाँच तारे होटल टाइगर प्यालेस रिसोर्टले सार्वजनिक जमिन मिचेर संरचना निर्माण गरेको ठहर गरेको छ । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश कृष्णमुरारी शिवाकोटीको एकल इजलासले सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गरेको ठहर गर्दै मिचेको सार्वजनिक जग्गा खाली गर्न रिसोर्ट सञ्चालकका नाममा आदेश समेत दिएको छ ।

हङकङको बहुराष्ट्रिय कम्पनी टाइगर वान प्रालिले यहाँ क्यासिनो र सिल्भर हेरिटेज इन्भेस्टमेन्ट प्रालिले टाइगर रिसोर्ट सञ्चालन गरेका छन् । लुम्बिनी नलकुप उपभोक्ता सङ्घ रुपन्देहीको तर्फबाट सङ्घका अध्यक्ष थानेश्वर घिमिरेले सार्वजनिक कुलो मिचेर संरचना बनाएको भन्दै रिसोर्ट सञ्चालकविरुद्ध अदालतमा मुद्दा दिएका थिए । 

गत वर्ष सञ्चालकले रिसोर्ट बिक्री गर्न खोजेपछि परेको अपहेलना मुद्दामा अदालतले रिसोर्ट र क्यासिनो सञ्चालक दुई कम्पनीलाई तीन–तीन हजार रुपियाँका दरले जरिवाना समेत तिराएको थियो ।

अन्तिम फैसला गर्दै अदालतले वादीको दाबीअनुसार तत्कालीन भैरहवा–लुम्बिनी भूमिगत जल (भैलुभुज) परियोजनाको करिब २३ कट्टा सार्वजनिक जग्गा, राजकुलो तथा सार्वजनिक कुलो मिचेर संरचना बनाएको र त्यसलाई खाली गरी उक्त जग्गा पुनः सार्वजनिक प्रयोगमा ल्याउन आदेश गरेको अदालतका स्रेष्तेदार शोभाकर खरेलले जानकारी दिनुभयो । 

“आदेशमा बादीको दाबी पुग्ने भनिएको छ” उहाँले भन्नुभयो, “यसको अर्थ बादीले रिसोर्टविरुद्ध जे–जे भनेर मुद्दा दिनुभएको थियो, त्यो प्रमाण पुगेको छ ।” विदेशी लगानीको उक्त रिसोर्टमा करिब पाँच अर्ब रुपियाँ लगानी भएको बताइएको छ । 

२०७४ सालदेखि रिसोर्ट सञ्चालनमा आएको थियो । बादीको दाबीअनुसार सार्वजनिक जमिन खाली गर्न अदालतले आदेश दिए पनि विस्तृत विवरण भने पूर्णपाठ आएपछि मात्रै थाहा हुने स्रेष्तेदार खरेलले बताए । रिसोर्टमा प्राइम बैङ्कले दुई अर्ब ५० करोड लगानी गरेको छ । अदालतमा मुद्दा दायर भएकैबेला बैङ्कले लगानी गरेपछि यसको आलोचना भएको थियो । अब अदालतको आदेशसँगै रिसोर्टका संरचना भत्काउनुपर्ने भएपछि बैङ्कको लगानी पनि जोखिममा परेको छ ।

निवेदकको तर्फबाट साबिक टिकुलीगढ वडा नम्बर ९ ‘घ’ र हाल तिलोत्तमा–१७ मा उक्त रिसोर्ट निर्माणको क्रममा कित्ता नम्बर १२०, १४८, १५२ र १९० का नहर (नलकुप) सार्वजनिक जग्गा र कित्ता नम्बर ७३ को सरकारी जग्गा समेत रिसोर्टको कम्पाउण्डभित्र राखी होटेल, क्यासिनो, रेस्टुरेन्ट, स्विमीङपुल प्रयोजनका लागि विभिन्न भवन, टहराको संरचना तयार गरी भोगचलन गर्दैआएको भन्दै उक्त रिसोर्टबिरुद्ध चार वर्षअघि अदालतमा रिट परेको थियो ।

१५ बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टले सरकारी र सार्वजनिक जग्गा मिचेर विभिन्न संरचना बनाएको छ । मिचिएको सार्वजनिक जमिनमा आकर्षक संरचना बनाएर क्यासिनो, सभाहल, स्वीमिङ पुल, रेष्टुरेण्टलगायत सञ्चालनमा छ ।