• १२ साउन २०८१, शनिबार

सर्वदलीय बैठक : उपसभामुख निर्वाचनबारे छलफल

blog

काठमाडौं, माघ ७ गते । सभामुख देवराज घिमिरेको आह्वानमा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सर्वदलीय बैठकमा उपसभामुख निर्वाचनको आज (शनिबार) को कार्यतालिका सम्बन्धमा केन्द्रित रही छलफल भएको छ ।

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा भएको बैठकमा उपसभामुख निर्वाचनसम्बन्धी कार्यसूची तय गर्ने विषयमै केन्द्रित रहेर छलफल भएको सङ्घीय संसद् सचिवालयका सहायक प्रवक्ता एवम् सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “सभामुखको निर्वाचनमा जुन प्रक्रिया र विधि अपनाइएको थियो त्यसलाई अपनाउने भन्ने कुरा भएको छ, कार्यव्यवस्था परामर्श निर्माण गरेर जाने विषयमा पनि छलफल भयो ।”

बैठकमा प्रतिनिधि सभा कार्यव्यवस्था निर्माण गरेर जाने विषयमा पनि छलफल भएको उहाँले बताउनुभयो ।

बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधान, नेकपा(एमाले) का नेता सुवास नेम्वाङ र नेकपा (माओवादी केन्द्र) का हितराज पाण्डे सहभागी हुनुभयो ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखक, नेकपा (एकीकृत समाजवादी) का प्रमुख सचेतक प्रकाश ज्वाला, राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाही, जसपाका प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाललगायत उपस्थित हुनुहुन्थ्यो ।