• १६ भदौ २०८१, आइतबार

संसद् भवनमा सर्वदलीय बैठक जारी

blog

काठमाडौं, माघ ७ गते । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको  सर्वदलीय बैठक नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा जारी रहेको छ ।

सभामुख देवराज घिमिरेले बोलाउनुभएको सर्वदलीय बैठक संसद् भवनको शङ्कर हलमा जारी रहेको प्रवक्ता एवम् सहसचिव एकराम गिरीले जानकारी दिनुभयो । सभामुख घिमिरेले आफू सभामुखमा निर्वाचित हुनुभएपछि पहिलो पटक बैठक बोलाउनुभएको छ ।

बैठकमा नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक, नेकपा (एमाले) का उपाध्यक्ष एवम् पूर्वसभामुख सुवास नेम्वाङ, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डे, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुबबहादुर प्रधान, नेकपा (एकीकृत समाजवादी) का उपमहासचिव प्रकाश ज्वाला, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसी, स्वतन्त्र सांसद प्रभु साहलगायतको उपस्थिति रहेको छ ।

आज प्रतिनिधि सभाको उपसभामुख चयनका लागि मतदान हुँदैछ । त्यसैको पूर्व सन्ध्यामा सभामुख घिमिरेले सर्वदलीय बैठक बोलाउनु भएको हो । घिमिरे गत माघ ५ गते १६७ मत प्राप्त गरी सभामुखमा निर्वाचित हुनु भएको थियो ।