• १३ असोज २०८१, आइतबार

इतिहास लेखन विज्ञ टोली गाउँमा

blog

दैलेख समाचारदाता

दैलेख, माघ ७ गते । दैलेखको इतिहास लेखन कार्यका लागि विज्ञहरू गाउँगाउँमा पुग्नुभएको छ। इतिहासविद् डा. राजाराम सुवेदी र डा. मधुसूदन गिरीको टोली जिल्लाका ११ वटा पालिकामा पुगेर त्यहाँका कला, साहित्य ऐतिहासिक, धार्मिक पुरातात्त्विक, सम्पदाहरूको अध्ययन अवलोकन गरिरहनुभएको हो।

दैलेखको इतिहास, कला, लोकसाहित्य, मूर्त र अमूर्त सम्पदाको इतिहास लेखन कार्यको अन्तिम रूप दिन पुनः विज्ञहरू गाउँगाउँमा जानुभएको हो। २०७४ सालदेखि सुरु गरिएको इतिहास लेखन कार्य अन्तिम चरणमा पुगेको इतिहासविद् डा. राजाराम सुवेदीले जानकारी दिनुभयो। 

उहाँले जिल्लाका ११ वटै पालिकामा रहेको धार्मिक, ऐतिहासिक, पुरातात्त्विक सम्पदाको अध्ययन अवलोकन, त्यहाँको कला, साहित्य, लोकसाहित्यका विषय समेटेर इतिहास लेखन कार्य अन्तिम चरणमा पुगेको बताउनुभयो। उहाँले भन्नुभयो, “हामीले आवश्यक पर्ने सबै प्रमाण सङ्कलन गरिसकेका छौँ। त्यसलाई टाइपिङ गरी सम्बन्धित निकायलाई छिट्टै बुझाउने कार्यक्रम छ।” इतिहासविद् डा. मधुसूदन गिरीले जिल्लाका नौवटा पालिकामा पुगेर त्यहाँको सबै विवरण सङ्कलन गरेको र बाँकी रहेका गुराँस गाउँपालिका र डुङ्गेश्वर गाउँपालिकाको वास्तविक इतिहास बुझ्न आफूहरू जिल्ला आएको बताउनुभयो। उहाँले इतिहासका विषयमा जानेका व्यक्तिहरूसँग अन्तर्वार्ता गर्ने र त्यहाँ रहेका सम्पदाको अवलोकन गरिरहेको जनाउनुभयो।

२०७४ सालमा दैलेख जिल्लाका पत्रकारले सुरु गरेको इतिहास लेखन कार्य अन्तिम चरणमा रहेको पत्रकार महासङ्घका निवर्तमान अध्यक्ष एवं इतिहास लेखन कार्यका संयोजक विष्णु शर्माले जानकारी दिनुभयो। उहाँले दैलेखमा रहेका ऐतिहासिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटकीय क्षेत्रहरूको खोजी गरी यसको विस्तृत अध्ययन र अनुसन्धान गरी औपचारिक इतिहास लेखन कार्य सुरु गरेको बताउनुभयो। उहाँले भन्नुभयो, “दैलेख जिल्लाको ऐतिहासिक सभ्यताका हिसाबले काठमाडौँ लुम्बिनीभन्दा पहिलाको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएपछि यसको खोजी गर्न लाग्यौँ।” नेपाली भाषाको पहिलो शिलालेख, तेह्रौँ शताब्दीका मूर्ति, देवल खम्बालगायत विभिन्न जातजातिको उद्गम थलो भएर पनि यसका बारेमा खोज अनुसन्धान हुन नसकेपछि जिल्लाका पत्रकारले त्यसको अध्ययन गर्न सुरु गरेका थिए।