बागलुङ समाचारदाता
बागलुङ, माघ ७ गते । बागलुङको जैमिनी नगरपालिका–१० का ५५ वर्षीय गम्भीर विकले ढुङ्गाखानीमा कालिगडका रूपमा जीवनको ऊर्जाशील जीवन बिताउनुभयो।
ढुङ्गाखानीमा काम थाल्दाको केही वर्षसम्म आम्दानी पनि राम्रो थियो। ढुङ्गा कुँदेरै परिवार पाल्नुभएको थियो। गाउँघरमै रोजीरोटी चलेपछि उहाँ वैदेशिक रोजगारी तथा स्वदेशमा पनि अन्य पेसामा लाग्नुभएन।
समयक्रमसँगै गाउँगाउँमा सडकको विस्तार भयो। औपचारिक सङ्घसंस्था, औपचारिक क्षेत्र तथा वैदेशिक रोजगारीमा गएका परिवारको सदस्यको आर्थिक अवस्था सुधार भएपछि केही गाउँ नै छोडेर सहरी तथा तराई क्षेत्रमा बसाइँ सरे। गाउँमै भएकाले पनि सिमेन्टको प्रयोग गरेर घर बढाउन थाले।
विशेषगरी २०७२ सालको भूकम्पपछि ग्रामीण क्षेत्रमा बन्ने घर, भवनलगायतका संरचनामा जस्तापाताको छानो हाल्न थालेपछि छाउने ढुङ्गाको व्यापार घट्दै गएको हो। ढुङ्गाको माग घट्दै गएको र खानीमा पनि सहज रूपमा ढुङ्गा नपाउँदा मजदुरी नै सङ्कटमा परेको विकले बताउनुभयो।
सक्रिय उमेर ढल्किँदै गयो। बिहान उज्यालो भएदेखि साँझ आँखा देख्ने बेलासम्म ढुङ्गामा खेलेको चिसो निस्कन थालेको छ। “चिसोले होला शरीरका आँख्ला–आँख्ला दुख्न थालेका छन्,” विकले भन्नुभयो, “खानी नचल्दा घर फर्कने बेलामा रोजगारी खोज्न हिँड्नुपर्ने अवस्था आएको छ।”
जैमिनी नगरपालिका–७, जैदीको हर्दियास्थित सरस्वती निम्न माध्यमिक विद्यालयको जग्गामा स्थानीयवासीले वि.सं. २०४४ देखि छाना छाउने ढुङ्गा निकाल्दै आएका छन्। विगतमा गाउँका अधिकांश युवा खानीमै रोजीरोटी पाउँथे। खानीको बाहिरी भागमै प्रशस्त ढुङ्गा पाइन्थ्यो। अहिले भित्र–भित्र खोज्दा पनि दिनमा दुई/चार हात ढुङ्गा काट्न कठिन हुने खानी मजदुर हिमबहादुर विकले बताउनुभयो।
चलनचल्तीको भाषामा ढुङ्गालाई हातको नापोमा बेचिन्छ। एक हातको ११० रुपियाँमा बिक्री हुन्छ। एक हातमा १८ इन्च चौडाइ र २३–२५ इन्च लम्बाइ हुन्छ। मजदुरबाट ११० रुपियाँमा खरिद गरेर १३५ रुपियाँ हातमा बेच्ने गरेको व्यापारी मनिकर्ण क्षेत्रीले बताउनुभयो। “ढुङ्गाको माग घटेपछि मजदुरहरू सङ्कटमा परेका छन्,” क्षेत्रीले भन्नुभयो, “गाउँका पाखापाखामा सिमेन्ट र टिनका छाना टल्किन थाले, ढुङ्गाको प्रयोग कम छ।” भूकम्पपछि ढुङ्गाको छानो हालेका घर बढी जोखिमपूर्ण हुने डरले प्रयोगमा कमी भएको क्षेत्रीको बुझाइ छ।
खानीका कालिगड मात्रै होइन, ढुङ्गा बोक्ने मजदुर पनि मर्कामा परेका छन्। एक हात ढुङ्गा खानीदेखि राङखानी विहारथलासम्म बोकेर ल्याएको १० रुपियाँ पाउँछन्। “दिनमा दुई/तीन सय कमाउन पनि मुस्किल छ,” ढुवानी मजदुरका रूपमा काम गर्दै आउनुभएका स्थानीय भीमबहादुर श्रीसले भन्नुभयो, “खानीमा ढुङ्गा उत्पादन कम हुँदा बोक्नेको पनि रोजगारी सङ्कटमा परेको छ।”
“पुरानै प्रविधि र तरिकाबाट ढुङ्गा निकाल्दा निकै कठिन हुन्छ,” मजदुर विकले भन्नुभयो, “कानुनी रूपमा दर्ता गरी मेसिनले उत्पादन गर्ने हो भने रोजगार सिर्जना गर्न सकिन्छ। उनीहरूले ढुङ्गा निकालेबापत विद्यालयलाई वार्षिक १५/२० हजार रुपियाँ दिँदै आएका छन्। हाल खानीमा नौ जना स्थानीय काम गर्दै आएका छन्।