• १३ असोज २०८१, आइतबार

विदेशमा रहेका नेपालीको हित गर्ने प्रतिबद्धता

blog

काठमाडौँ, माघ ७ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुुभएको छ । 

नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घको २९औँ साधारण सभाको शुुक्रबार राजधानीमा उद्घाटन गर्दै उहाँले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो । 

दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले विदेशमा रहेका नेपालीको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्वपूर्ण काम भएको जानकारी दिनुभयो । “अब यो तेस्रो कार्यकालमा विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्छु,” उहाँले थप्नुभयो । 

आफ्नो तेस्रो कार्यकाल देशको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको चर्चा गर्दै प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, “देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम देखिने गरी दिन्छु ।” उहाँले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीलाई आग्रह गर्नुभयो । 

प्रधानमन्त्री प्रचण्डले वर्तमान सरकारको उद्देश्य देशभित्र रहेका विकृति र विसङ्गतिको अन्त्य गर्ने रहेकाले वैदेशिक रोजगारीका नामका हुने विकृति अन्त्य गर्न व्यवसायीबाट पूर्ण सहयोग हुने विश्वास व्यक्त गर्नुभयो ।  

कार्यक्रममा श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद (डीपी) अर्यालले वैदेशिक रोजगारीमा जाने प्रवृतिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने बताउनुभयो । 

उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित व्यवस्थित बनाउँदै भविष्यमा वैदेशिक रोजगारीमा जाने प्रवृत्तिलाई बाध्यात्मक नभएर स्वेच्छिक बनाउने वर्तमान सरकारको लक्ष्य रहेको बताउनुभयो । मन्त्री अर्यालले सरकारले वैदेशिक रोजगारीबाट प्राप्त पुँजी, सीप र ज्ञानलाई आन्तरिक उत्पादन र उत्पादकत्व अभिवृद्धिमा परिचालन गरिने बताउनुभयो ।

श्रम सचिव एकनारायण अर्यालले नेपाल सरकारले वैदेशिक रोजगारीको क्षेत्रलाई सुधार गर्न आवश्यक रहेको बताउनुभयो । नेपालको वैदेशिक रोजगारी मलेसिया र खाडी देशमा मात्रै केन्द्रित रहेको भन्दै उहाँले यसलाई अब युरोपका देशमा विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सचिव अर्यालले वैदेशिक रोजगारीमा गएका श्रमिक सबैलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्ने तयारी रहेको पनि बताउनुभयो ।  

कार्यक्रमका सहभागी व्यवसायीले वैदेशिक रोजगारीमा रहेका समस्या, विकृति तथा विसङ्गतिको अन्त्य गर्दै मर्यादित व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । सहभागी व्यवसायीले वैदेशिक रोजगार ऐन, २०६४ को थप परिमार्जन गरी व्यावसायिक तथा श्रमिकमैत्री बनाउनुपर्ने र अन्तर्राष्ट्रिय प्रचलनअनुसार कामदारले पाउने एक महिनाको तलब बराबरको रकम व्यवसायीले सेवा शुल्कबापत लिन पाउने व्यवस्था हुनुपर्नेलगायत विभिन्न माग गर्दै आएका छन् । 

वैदेशिक रोजगार व्यवसायीको व्यावसायिक एकता र पेसागत हकहितको संरक्षणका लागि स्थापित छाता सङ्गठनका रूपमा ३० वर्षअघि सङ्घको स्थापना भएको हो । दुई दिनसम्म चल्ने सङ्घको २९औँ साधारणसभाले नयाँ नेतृत्व चयन गरेर सम्पन्न हुनेछ ।