• १३ असोज २०८१, आइतबार

पोस्टमार्टम सकियो पहिचान बाँकी

blog

काठमाडौँ, माघ ७ गते । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि ४९ वटै शवको पहिचान भने हुन सकेको छैन । 

त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिनुभयो । उहाँले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको जानकारी दिनुभयो । 

डा. चौधरीका अनुसार शुक्रबार थप दुईवटा शवको पहिचान भएको छ । ती दुई शव रसियन नागरिक रहेका छन् । रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन् । अघिल्लो दिनसम्म २५ जनाको शव पोस्टमार्टम भएको थियो । तीमध्ये १६ शवको पहिचान भएको थियो । १६  शवमध्ये १२  शव आफन्तले बुझेका थिए । 

“पोस्टमार्टम सकिएको छ,” फरेन्सिक विभाग प्रमुख डा. चौधरीले भन्नुभयो, “अब शनिबारबाट शव पहिचानमा लाग्नेछाँै ।” उहाँका अनुसार हालसम्म १८ जनाको मात्र शव पहिचान भएको छ । शनिबार बेलुकीसम्म कतिवटा शवको डीएनए परीक्षण गर्नुपर्ने हो त्यसको विवरण आउने बताउनुभयो । उहाँले पाँचवटा शवको डीएनए परीक्षण गर्नुपर्ने हुन सक्ने पनि बताउनुभयो । पोखराबाट २५ वटा शवको प्रहरीले नाम लेखेर पठाएको थियो । उहाँले पहिचान भएका शवमध्ये मृतकका शरीरमा भएका ट्याटु, चेन, गहना, लुगा, घडीलगायतको सामग्रीका आधारमा पहिचान गरिएको जानकारी पनि दिनुभयो ।