• १३ असोज २०८१, आइतबार

घट्यो उद्योग दर्ता र विदेशी लगानी

blog

काठमाडौँ, माघ ७ गते  । चालू आर्थिक वर्षको छ महिनामा (साउन–पुस)सम्ममा स्वदेशी लगानीका उद्योग दर्तामा कमी आएको छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आव २०७९/८० को पहिलो छ महिनामा १४५ उद्योगमार्फत एक खर्ब ३९ अर्ब रुपियाँ बराबरको लगानी स्वीकृत भएको छ । गत आर्थिक वर्षको सोही अवधिमा १५५ उद्योगमार्फत एक खर्ब ९० अर्ब रुपियाँ लगानी स्वीकृत भएको थियो । अघिल्लो अवधिको तुलनामा यो वर्ष ५१ अर्ब रुपियाँ लगानी कमी हो । 

चालू आर्थिक वर्षमा अर्थतन्त्रमा देखिएको समस्याका कारण उद्योग दर्ता पनि घटेको विभागले जनाएको छ । विभागका अनुसार सो अवधिमा स्वदेशी लगानीमा ठूला उद्योग ३९, मझौला ४१ र साना उद्योग ६५ दर्ता भएको छ । ती उद्योगबाट नौ हजार ८१६ जनाले रोजगारी पाउने प्रस्ताव गरिएको छ । बजारमा तरलता अभाव, बैङ्कको उच्च ब्याजदरको कारण नयाँ उद्योग खोल्ने सङ्ख्या कम भएको हो । 

वैदेशिक लगानीका १३१ परियोजना

उद्योग विभागको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको पहिलो छ महिनामा १३१ परियोजनामार्फत १७ अर्ब ३० करोड रुपियाँको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । 

गत आर्थिक वर्षको सो अवधिमा १२९ परियोजनामार्फत ३० अर्ब ५६ करोड रुपियाँको लगानी प्रतिबद्धता आएको थियो । विदेशी लगानी प्रतिबद्धता गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३ अर्ब २६ करोड रुपियाँ कमी हो । विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धता आधाले घटेको विभागले जनाएको छ ।

विदेशी लगानीमा दुई ठूला परियोजना, १९ मझौला र साना ११० वटा परियोजनामा लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । विदेशी लगानी प्रतिबद्धता सबैभन्दा धेरै सेवामूलक र पर्यटनमूलक परियोजनामा आएको छ । उत्पादनमूलक परियोजनामा १०, पर्यटनमूलक ५२, सेवामूलक ५९, सूचना प्रविधि सात, पूर्वाधार तीन परियोजनामा विदेशी लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ । 

अघिल्लो वर्षको तुुलनामा यो वर्ष विदेशी लगानीमा परियोजना स्वीकृत सङ्ख्या बढे पनि लगानी भने झन्डै आधाले घटेको छ । विदेशी लगानी प्रतिबद्धतामार्फत सात हजार ८४१ जनाले रोजगारी पाउने अनुुमान गरिएको छ । 

विभागका महानिर्देशक रामचन्द्र तिवारीले विश्वभर देखिएको आर्थिक सङ्कटका कारण विदेशी लगानी प्रतिबद्धतामा कमी आएको जानकारी दिनुुभयो । रुस–युक्रेन युद्धपछि विश्वका धेरै मुलुक आर्थिक सङ्कटबाट गुज्रिरहेका कारण नेपालमा पनि वैदेशिक लगानीमा असर परेको उहाँको भनाइ छ । 

सरकारले वैदेशिक लगानीको सीमा घटाएसँगै सानो लगानीका विदेशी परियोजना भित्रिने क्रम बढेकाले लगानी बढ्ने अनुमान गरिएको विभागले जनाएको छ । सरकारले गत मङ्सिर महिनादेखि विदेशी लगानीको सीमा पाँच करोड रुपियाँबाट घटाएर दुई करोड रुपियाँमा झारेको थियो । लगानीको सीमा घटाएकाले पनि कम विदेशी प्रतिबद्धता आएको छ ।  

पन्ध्र सय टे«डमार्क दर्ता

चालू आर्थिक वर्षको छ महिनामा एक हजार ५५१ टे«डमार्क दर्ता भएका छन् । आठवटा डिजाइन र एक प्याटेन्ट दर्ता भएको विभागले जनाएको छ । सो अवधिमा ३१ वटा प्रारम्भिक वातावरणीय परीक्षण भएका छन् । 

सो अवधिमा ट्रेडमार्कसम्बन्धी ५७ वटा मुद्दामाथि कारबाही भएको विभागले जानकारी दिएको छ । विभागले विदेशी लगानी परियोजनामा छ महिनामा १२५ लगानीकर्ता, १८ प्रतिनिधि र ७७ आश्रितको व्यावसायिक भिसा सिफारिस गरेको छ । विभागले प्रतिबद्धताअनुसार वैदेशिक लगानी नआएपछि व्यावसायिक भिसामा कडाइ गरेको जनाएको छ ।