• १३ असोज २०८१, आइतबार

भूकम्पबारे कृत्रिम घटना अभ्यास प्रदर्शनी

blog

कार्यक्रममा सुरक्षा फौजबाट कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिदै । तस्बिर : धर्बेन्द्र झा

धर्बेन्द्र झा 

धनुषा, माघ ६ गते । भूकम्प जानुअघि भूकम्पबाट हुने जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले शुक्रबार मधेश प्रदेशको राजधानी जनकपुरधाममा सुरक्षा फौजबाट कृत्रिम घटना अभ्यास प्रदर्शनी गरिएको छ । 

जिल्ला विपद व्यवस्थापन समिति धनुषा, जनकपुरधाम उपमहानगरपालिका, गृह तथा सञ्चार मन्त्रालय मधेश प्रदेशसहित १० वटा संघ संस्थाको संयुक्त आयोजनामा आज गरिएको कृत्रिम घटना अभ्यास प्रदर्शनीमा सुरक्षाकर्मीको उद्धार टोलीले भूकम्प गएको समयमा जनधनको क्षति हुन नदिन कुन प्रकारले काम गर्छ भन्ने बारेमा आफनो प्रदर्शनी गर्दै कार्यक्रममा सहभागी भएकालाई घटना भइसकेपछि के गर्ने बारेमा प्रदर्शनी मार्फत जानकारी गराएका थिए । 

प्रदर्शनीको क्रममा सुरक्षाकर्मीको उद्धारटोलीले कृत्रिम घर निर्माण गरी घरभित्र फँसेका मानवलाई उद्धार गरी एम्बुलेन्समार्फत अस्पतालसम्म कसरी लग्ने विषयमा अभ्यास गरी जानकारी गराएका थिए ।

धनुषाका निमित्त प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीको अध्यक्षतामा भएको सो कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख मनोज साहले कुनै पनि प्रकोप जुनसुकैबेला जान सक्ने भएकाले हामी सबै त्यसको प्रतिकार र आफनो सुरक्षाका लागि तयार भएर बस्नु पर्ने बताउनुभयो । 

उहाँले बाढी पहिरो, शितलहर, भूकम्पजस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा मधेश प्रदेश रहेको बताउँदै तीनै तहका सरकारले यसका लागि पूर्व तयारी गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा गृह तथा सञ्चार मन्त्रालय मधेश प्रदेशका सचिव रामकुमार महतो, रेडक्रस धनुषाका अध्यक्ष नरेश सिंह सहितले प्राकृतिक प्रकोपबाट बच्न अपनाउनु पर्ने सावधानी र त्यसका तयारीबारे आफनो धारणा राख्नुभयो ।