ललिता साह
बोदेबसाईन (सप्तरी) माघ ६ गते । सप्तरीको तिरहुत गाउँपालिकामा आगलागीबाट नौ लाख बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । तिरहुत गाउँपालिका वडा नं ४ डिमन टोलमा शुक्रबार दिउँसो स्थानीय हरेराम यादवको घरबाट सल्केको आगो छिमेकीमै टाँसिएको तेजनारायण यादव र ओमनारायण यादवको घरमा समेत फैलिएको थियो ।
आगलागीमा परी हरेरामकै दुईवटा बाख्रा दुई वटा भैंसी जलेर मरेका छन् । तेजनारायण यादवको सुनचाँदी पसल र फर्निचरमा पनि आगो सल्केर सामान जलेको छ । त्यहाँ चार लाख बढीको घरको सरसामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । कञ्चनरुप हनुमाननगर राजविराज नगरपालिकाबाट गरी तीन वटा दमकल आई दिउँसो पौने ४ बजेतिर आगो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता नरेशकुमार सिंहले जानकारी दिनुभयो । आगलागीको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।