• ६ कात्तिक २०८१, मङ्गलबार

सुरुङ्गाको प्रमुख प्रशासकीय भवनको शिलन्यास

blog

ललिता साह 

बोदेबसाईन (सप्तरी) माघ ६ गते । स्थानीयहरूले दान दिनुभएको डेढ विघा क्षेत्रफल जग्गामा सप्तरीको सुरुङ्गा नगरपालिकाको प्रशासकीय भवन निर्माण हुने भएको छ । सो भवनको एक कार्यक्रमबीच शिलन्यास गरिएको छ ।

लोकमार्गमा पर्ने कुसहा बजार वडा – ५  बैनगामामा नगरप्रमुख गीता चौधरीले प्रशासकीय भवनको शिलन्यास गर्नुभएको हो । नगरप्रमुख चौधरीले भवन निर्माणस्थलमा विधिपूर्वक पूजापाठसहित ईटा राखेर शिलान्यास गर्नुहुँदै आफूले नगरप्रमुखमा जितेर आएपछि नगरवासीको एक महत्वपूर्ण सपनाको पहिलो खुट्किला पार गरेको बताउनुभयो । प्रशासकीय भवन निर्माण सम्पन्न भएमा नगरबासीको सेवा थप सहज हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

आगामी दुई वर्षभित्र सुविधासम्पन्न भवन निर्माण सम्पन्न गरिसक्ने लक्ष्यसहित नगर कार्यपालिकाबाट चालु आर्थिक वर्षमा दुई करोड रकम बिनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्रनाथ  शर्माले जानकारी दिनुभयो । 

स्थानीय महेश चौधरी र दुर्गानन्द चौधरीले १० कठ्ठा, कालिनदेबि चौधरीले दुई कठ्ठा, आनन्द चौधरी र हरिकान्त चौधरीले ५ कठ्ठा, जितनी चौधरीले १ कठ्ठा बलिकान्त चौधरीले २ कठ्ठा सहितका जग्गा दाताहरुले डेढ बिघा जग्गा उपलब्ध गराउनुभएको नगरप्रमुख चौधरीले बताउनुभयो । नगरले स्थापनाकालदेखि भाडाको घरबाट प्रशासकीय सेवा प्रदान गर्दैआएको छ ।