• १२ साउन २०८१, शनिबार

‘छिमेकी सम्बन्ध सन्तुलित र व्यावहारिक बनाउनुपर्छ’

blog

अभिमुखीकरण कार्यक्रमको उद्घाटन सत्रमा धारणा राख्नुहुँदै अध्यक्ष ओली । तस्बिर – रासस

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ६ गते । सत्ता साझेदार दलबाट प्रतिनिधिसभामा सबैभन्दा ठूलो दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेक सम्बन्ध सन्तुलित र व्यावहारिक बनाएर देशको हितमा काम गर्नुपर्ने बताउनुभएको छ । आग्रह र पूर्वाग्रहमा छिमेकी कार्ड खेल्दा मुलुक सङ्कटमा पर्ने उहाँको भनाइ छ । एमाले परराष्ट्र मामिला विभागले शुक्रबारबाट यहाँ सुरु गरेको दुईदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष ओलीले त्यस्तो बताउनुभएको हो । 

राष्ट्रको अहित हुने, मुलुकको सार्वभौमिकता, स्वाधिनता र स्वतन्त्रतामाथि नै अतिक्रमण हुनेखालको कुनै गतिविधि कसैले पनि गर्न नहुने उहाँले बताउनुभयो । दुई छिमेकी मुलुक भारत र चीनसँग असल छिमेकीको सम्बन्ध कायम राख्नुको विकल्प नरहेको उहाँले चर्चा गर्नुभयो । अध्यक्ष ओलीले आफ्नो पार्टीले पारस्पारिक लाभ र सम्मानको आधारमा परराष्ट्र सम्बन्धलाई सुदृढ बनाउन चाहेको स्पष्ट पार्नुभयो ।


उहाँले भन्नुभयो, ‘पहिलो कुरा दुई वटा छिमेकीसँग कार्ड खेल्ने होइन । एउटाको कार्ड अर्कातिर, अर्कोको कार्ड अर्कातिर होइन । सन्तुलित, विश्वसनीय, भरपर्दो सम्बन्ध बनाउनुपर्छ ।’ बाहिर एउटा भित्रभित्र अर्को क्रियाकलाप, मुखले एउटा व्यवहारले अर्कै अभ्यास गर्नु राम्रो नभएको उहाँले चर्चा गर्नुभयो । छिमेकमा बसेर छिमेकको अहित गर्ने भनेको सामान्य घरगाउँमा पनि नमिल्ने वा असल छिमेकी नमानिने कुरा भएको उहाँले बताउनुभयो । “हामी हाम्रा छिमेकीका निम्ति असल छिमेकी हुन चाहन्छौं । उनीहरुको कुभलो गर्दैनौं ।

छिमेकीसँग भलो चिताएर उनीहरुलाई सहयोग पु¥याएर, उनीहरुका जायज चासो, चिन्ता, सरोकार आदिलाई समेत सम्बोधन गरेर यथोचित ढङ्गले हामी अगाडि जान्छौं” अध्यक्ष ओलीले भन्नुभयो, “हाम्रो भूमि कसैका विरुद्ध प्रयोग गर्न दिँदैनौं । मिलिटेरिली हामी कतै संलग्न हुँदैनौं । हामी कसैको पनि मिलिटेरिली बेसिस, कुनै पनि प्रकारका सैनिक गतिविधि वा त्यस्ता अड्डाहरु हाम्रो देशमा राख्न दिँदैनौं ।”

हामी कुनै पनि हिसाबले हाम्रो सार्वभौमसत्ता, हाम्रो स्वाधिनता, हाम्रो स्वतन्त्रतामा कम्प्रोमाइज गर्दैनौं उहाँले भन्नुभयो । पारस्परिक लाभ, र पारस्परिक सम्मानको आधारमा सम्बन्ध कायम गरेर अघि बढ्ने उहाँले बताउनुभयो । ‘सबैसँग मित्रता, कसैसँग छैन शत्रुता’ को नीतिबाट अगाडि बढ्ने उहाँले प्रष्ट पार्नुभयो । 

अध्यक्ष ओलीले व्यापारलाई सन्तुलनतर्फ ल्याउन बाह्य लगानी भित्र्याउनुपर्ने भएकाले सोही अनुसारको परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो । रोजगारी प्रवर्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्नेजस्ता कुराका लागि बाह्य लगानी बढाउन नेपालले ध्यान दिनुपर्ने उहाँको भनाइ छ । अध्यक्ष ओलीले सीमा समस्यालगायतका समस्या समाधान हुनेगरी परराष्ट्र नीति सञ्चालन गर्न लाग्नुपर्ने आवश्यकता उहाँले औंल्याउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामीलाई देशभित्र शान्ति चाहिएको छ । हामीलाई विकासनिम्ति अनुकूल वातावरण चाहिएको छ । हामीलाई विकासका प्रयासलाई तीव्रताका साथ अगाडि बढाउनुपर्नेछ ।’ अपर्याप्त भएका ठाउँमा बाह्य सहयोग अथवा लगानी आवश्यक पर्ने उहाँको भनाइ छ । रोजगारीको अवसर सिर्जना हुनेगरी, हाम्रो आफ्नो पनि प्रयास र बाह्य सहायता वा बाह्य लगानीलाई पनि रोजगारी प्रवर्धन गर्ने, उत्पादन वृद्धि गर्ने, उत्पादकत्व वृद्धि गर्नेजस्ता कुरामा लगाउनुपर्ने उहाँले बताउनुभयो । अध्यक्ष ओलीले मुलुकमा विकासलाई तीव्रता दिनेगरी परराष्ट्र नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो ।