काठमाडौं, माघ ६ गते। उपप्रधान तथा ऊर्जा, जलस्राेत तथा सिंचाइमन्त्री राजेन्द्रप्रसाद लिङ्देनले सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर र उपरखुट्टी लगाएर बस्ने छुट र समय आफूलाई नरहेको बताउनुभएको छ।
शुक्रबारबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको नेपाल इलेक्ट्रिक्स पावर लाइट्स अन्तर्राष्ट्रिय प्रदर्शनीको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो।
उहाँले प्रदर्शनीले नेपालमा राम्रा प्रविधि भित्र्याउन, नेपालको व्यापार प्रवर्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढङ्गका क्रियाकलापमा सहयोग पुग्ने आशा गरेको बताउनुभयो। मन्त्री लिङ्देनले सरकारले लगानीमैत्री वातावरण बनाउने उल्लेख गर्दै अब उद्योग दर्तासम्बन्धी कुनै पनि प्रक्रियाका फाइल घुमिराख्ने शैलीको अन्त्य गर्दै एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रियाको थालनी गर्ने बताउनुभयो।
उहाँले देशभित्रका उद्योगी, व्यापारीलाई ढुक्कसँग लगानी गर्न र विदेशी उद्योगीलाई पनि नेपालमा लगानीमैत्री वातावरण रहेकाले ढुक्कसँग लगानी गर्न आग्रह गर्नुभयो। उहाँले सरकारले लगानीकर्ताको सम्पूर्ण सुरक्षाको जिम्मा लिने र लगानीको पूर्ण ग्यारेन्टी गर्ने प्रतिबद्धता जनाउनुभयाे।
उहाँले भन्नुभयो, ‘‘नेपालमा राम्रा प्रविधि भित्र्याउन, नेपालको व्यापार प्रवर्धन र नेपालको विद्युत् नेपालमै प्रयोग गर्न मद्दत पुग्ने ढङ्गका क्रियाकलाप यो एक्स्पोले अझै सहयोग गर्नेछ। कुनै पनि सार्वजनिक कार्यक्रममा लामो समय पलेँटी कसेर, उपरखुट्टी लाएर बस्ने छुट र समय मलाई छैन। संक्षिप्त समय निकालेर म आएको छु। एउटै टेबुलबाट सबै काम सक्ने प्रक्रिया हामीले निर्धारण गर्न लागेका छौँ। देशभित्रका उद्योगी, व्यापारीलाई ढुक्कसँग लगानी गर्न आग्रह गर्छु, नेपालमा लगानी गरौँ भन्ने विदेशी उद्योगीलाई यहाँ आउनुहोस् नेपालमा लगानीमैत्री वातावरण छ। सरकारले सबै प्रकारको सुरक्षा गर्छ। सरकारले सबै जिम्मा लिन्छ, लगानी खेर जाँदैन, लगानीको पूर्ण ग्यारेन्टी हामी लिन्छौँ।’’
मन्त्री लिङ्देनले नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा लाग्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्युतीय सामग्रीको बढी प्रयोग गरेर विद्युत् खपत बढाउनुपर्ने बताउनुभयो। विद्युतीय सामग्रीको प्रयोग बढाउन सरकारले वातावरण बनाउनुपर्नेमा उहाँको जोड छ।
उहाँले भन्नुभयो, ‘‘नेपालको ऊर्जा नेपालमा नै खपत गर्ने कुरामा हामी सबै लाग्नुपर्छ, छिमेकीसँग व्यापारको कुरा त छँदैछ तर देशभित्रै पनि यसको खपत बढाउनुर्छ।’’
मन्त्री लिङ्देनले सरकारमा आफ्नो पार्टी प्रवेश गरेसँगै विभिन्न शङ्का र उपशङ्का गरिएको भन्दै सरकारमा बसेर शङ्का चिर्ने बताउनुभयो। उहाँले भन्नुभयो, ‘‘हामीप्रति अनेक प्रकारका शङ्का, उपशङ्का गरिएको छ, यो हाम्रो अग्निपरीक्षा हो, हामी खरो उत्रिएर उत्तीर्ण हुन्छौं।’’
प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी स्टल रहने बताइएको छ।