• १२ साउन २०८१, शनिबार

विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राख्छु

वैदेशिक रोजगारीका विकृति र विसङ्गति अन्त्य गर्नुपर्छ : प्रधानमन्त्री प्रचण्ड

blog

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले काठमाडौंमा आयोजना गरेको २९ औं साधारण सभालाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रधानमन्त्रीको निजी सचिवालय

काठमाडौं, माघ ६ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वैदेशिक रोजगारीमा रहेका विकृति र विसङ्गति अन्त्य गर्नुपर्ने बताउनुभएको छ। नेपाल वैदेशिक रोजगार व्यवसायी सङ्घले शुक्रबार काठमाडौंमा आयोजना गरेको २९ औं साधारण सभा उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताउनुभएको हो। 

प्रधानमन्त्री प्रचण्डले भन्नुभयो, ‘‘अघिल्लो वर्ष वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेका समाचार मैले सुनेको छु। यो व्यवसाय संवेदनशील छ। यसलाई व्यवस्थित र मर्यादित बनाउनैपर्छ। यसभित्र थुप्रै विकृति र विसङ्गति छन्, त्यसको अन्त्य गर्नुपर्छ। मेरो विश्वास छ, सरकारको प्रयासमा तपाईंहरूको साथ हुनेछ।’’ 



प्रधानमन्त्रीले वैदेशिक रोजगारीमा थुप्रै समस्या रहेको भन्दै त्यसतर्फ विशेष ध्यान दिन व्यवसायीहरूलाई आग्रह गर्नुभयो। प्रधानमन्त्री ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालमा देशलाई केही दिने गरी काम हुने बताउनुभएको छ। 

‘‘म दोस्रो पटक प्रधानमन्त्री हुँदा विदेशमा रहेका नेपालीको हितका पक्षमा केही महत्वपूर्ण काम गरेको थिएँ। विदेशमा रहेका नेपालीको बीमा, श्रम स्वीकृति, क्षतिपूर्तिको रकममा वृद्धिलगायत महत्त्वपूर्ण काम भएका थिए। यसपटक विदेशमा रहेका नेपालीको हितलाई केन्द्रमा राखेर थप काम गर्नुछ, म त्यो गर्छु’’, उहाँले भन्नुभयो।

प्रधानमन्त्री प्रचण्डले आफ्नो तेस्रो कार्यकाल मुलुकको विकास, समृद्धि र सुशासनका निम्ति चुनौतीपूर्ण अवसर भएको बताउनुभयो। प्रधानमन्त्रीले भन्नुभयो, ‘‘देशलाई केही दिनैपर्ने परिस्थितिमा प्रधानमन्त्री भएको छु, देशलाई केही न केही परिणाम दिनुछ र दिन्छु।’’