• १२ साउन २०८१, शनिबार

मुख्यमन्त्री गिरीलाई विश्वासको मत प्राप्त

blog

दिवाकर पोख्रेल

देउखुरी, माघ ५ गते । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीले प्रदेश सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रदेश सभाको प्रथम अधिवेशनको बिहीबार बसेको चौथो बैठकबाट मुख्यमन्त्री गिरीले विश्वासको मत लिनुभएको हो । नेपालको संविधान २०७२ को धारा १६८ (४) बमोजिम उहाँले विश्वासको मत लिनुभयो । 

प्रदेश सभामा कायम रहेका कुल ८७ प्रदेश सभा सदस्यमा उपस्थित सांसदमध्येको बहमुत प्राप्त गरेकाले उहाँले विश्वासको मत प्राप्त गर्नुभएको हो । मुख्यमन्त्री गिरीलाई ५७ जना सांसदले पक्षमा मतदान गरे । विश्वासको मतका लागि मुख्यमन्त्रीले सदनमा पेस गरेको प्रस्तावको विपक्षमा २८ मत परेको थियो । 

मुख्यमन्त्रीको गिरीले पाएको विश्वासको मत प्रदेश सभाको कुल सदस्य संख्याको बहुमत भएकाले उहाँले राखेको प्रस्ताव बहुमतले पारित भएको छ । मुख्यमन्त्री गिरीलाई एमालेका २८, माओवादी केन्द्रका १०, राप्रपा र नागरिक उन्मुक्ति पार्टीका ४–४, जसपा, लोसपा र जनमतका ३–३ र नेकपा एकीकृत समाजवादीका १ र स्वतन्त्र २ सांसदसहित ५७ जना सभा सदस्यले पक्षमा मतदान गरेका थिए ।  

सरकार गठनमा विपक्षीमा रहेको एकीकृत समाजवादी पार्टीका प्रदेश सभा सदस्यले पनि मुख्यमन्त्री गिरीलाई मतदान गर्नुभएको छ । मुख्यमन्त्रीको विश्वासको विपक्षमा नेपाली कांग्रेसका २७ र राष्ट्रिय जनमोर्चाको एक गरी २८ मत परेको हो । 

प्रदेश सभामा विश्वासको मत माग्दै मुख्यमन्त्री गिरीले लुम्बिनी प्रदेशमा राजधानी कार्यान्वयन र यस क्षेत्रको विकासका लागि आफू सधै तत्पर रहेकाले विश्वासको मत दिन आग्रह गर्नुभएको थियो । उहाँले भन्नुभयो, ‘सबै पार्टीबाट विश्वासको मतको आशा गरेको छु, संघीय सरकारले पनि अधिक मात्रामा मत पाएको छ । मधेश प्रदेश लगायतमा पनि त्यो खालको सहकार्य भएको छ, हाम्रोमा पनि आवश्यक छ ।’ 

संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका संसदीय दलका नेता डिल्ली बहादुर चौधरीले मुख्यमन्त्रीलाई विश्वासको मत नदिए पनि भविष्यमा सरकारले गर्ने कामको आधारमा समर्थन विरोध रहने बताउनुभयो ।