• १३ साउन २०८१, आइतबार

खुकुरी प्रहारबाट एकको मृत्यु

blog

निशा राई 

धरान, माघ ५ गते । धरान उपमहानगरपालिका वडा –५ मा खुकुरी प्रहारबाट एक जना पुरुषको मृत्यु भएको छ । एक जना महिला घाइते हुनुभएको छ । बिहीबार बिहान धरान –५ स्थित आँपटारमा ३९ वर्षीय विकास भनिने हर्कबहादुर राईले आफ्नै घरको भान्सामा आफ्नै साथी ३५ वर्षीय कुमार बुढाथोकीको खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनामा परी स्थानीय २५ वर्षीय मञ्जु खड्का राई गम्भीर घाइते हुनुभएको धरान ५ का वडाध्यक्ष मनप्रसाद लिम्बुले बताउनुभयो । उहाँले भन्नुभयो, “मर्ने र मार्ने दुवै जना साथी हो । कुमार बिहान साथीको घरमा आएका थिए । विकासका बाबुले छोरालाई चिया पकाउन लगाएर आफू दोकान जानुभएको थियो । फर्केर आउँदा छोराले आफ्नै साथीलाई मारिसकेको रहेछ ।” मृतक बुढाथोकीको ढाड र कोखामा चोट रहेको प्रहरीले जनाएको छ । 

साथीको हत्या गरेर सडकमा निस्किएका विकास पुनः मञ्जु खड्काकोे घरमा गएर खुकुरी निकाली उनीमाथि प्रहार गरेको स्थानीयहरुले बताएका छन् । घरमा छिरेर खुकुरी निकाल्न थालेपछि भागेकी मञ्जुलाई नजिकै रहेको साग बारीमा अन्धाधुन्ध खुकुरी प्रहार गर्न थालेपछि स्थानीयले नियन्त्रणमा लिई प्रहरीलाई खबर गरेको जनाएको छ । 

खुकुरी प्रहारबाट गम्भीर घाइते मञ्जुलाई उपचाका लागि धरानस्थित विजयपुर अस्पताल लगिएको छ । मृतक बुढाथोकीको शव पोस्टमार्टमका लागि प्रहरीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । घटनाको कारणबारे नखुले पनि, विकास लागुऔषध प्रयोगकर्ता रहेको वडाध्यक्ष लिम्बूले बताउनुभयो ।