• १६ भदौ २०८१, आइतबार

प्रतिनिधिसभा बैठकबाट शोक प्रस्ताव पारित

blog

गोरखापत्र अनलाइन

काठमाडौं, माघ ५ गते । प्रतिनिधिसभा बैठकले माघ १ गते भएको पोखरा विमान दुर्घटनामा ज्यान गुमाउनेप्रति शोक प्रस्ताव पारित गरेको छ । ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले सभामुखको आसनबाट राख्नुभएको शोक प्रस्ताव बैठकले सर्वसम्मत पारित गरेको हो । 

बैठकले मृतकहरुप्रति एक मिनेट मौनधारण गरेको छ । ज्येष्ठ सदस्य जबराले मृतकहरुप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुहुँदै आत्माको चिर शान्तिको कामना गर्नुभयो । शोकाकुल परिवारजनप्रति उहाँले समवेदना व्यक्त गर्नुभयो । 

यसैबीच, ज्येष्ठ सदस्य जबराले आफूलाई सभामुखको भूमिकामा सहयोग गर्ने प्रमुख राजनीतिक दलका नेता, सरकार, दलका नेताहरु, सांसदहरु, सङ्घीय संसद् सचिवालयका सबै कर्मचारीसहित सम्बद्ध सबैलाई धन्यवाद व्यक्त गर्नुभयो । संसद्को अर्को बैठक माघ ७ गते शनिबार दिउँसो १ बजे बस्ने ज्येष्ठ सदस्य जबराले बैठकलाई जानकारी गराउनुभयो । अर्को बैठकदेखि नवनिर्वाचित सभामुख देवराज घिमिरेले बैठक सञ्चालन गर्नुहुनेछ ।