• १२ साउन २०८१, शनिबार

सभामुख पद कांग्रेसले पाउनुपर्छ : सांसद शर्मा

blog

प्रतिनिधिसभा बैठकमा बोल्नुहुँदै नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्मा । तस्बिर : केशब गुरुङ

काठमाडौं, माघ ५ गते । नेपाली कांग्रेसका महामन्त्री एवम् सांसद विश्वप्रकाश शर्माले सत्तापक्षको सरकार र प्रतिपक्षको संसद् भन्ने मान्यतालाई अघि बढाउन सभामुख पद आफ्नो पार्टीले पाउनुपर्ने तर्क गर्नुभएको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकमा पार्टीको तर्फबाट सभामुखको उम्मेदवार बन्नुभएकी ईश्वरीदेवी न्यौपानेको पक्षमा मतदान गर्न प्रस्ताव गर्ने क्रममा उहाँले आफ्नो दल प्रमुख प्रतिपक्ष भएको र उसले सबैभन्दा ठूलो दलको नाताले पनि सभामुख पद पाउनुपर्ने बताउनुभयो ।

‘‘व्यक्तिगत रुपमा उहाँ शालीन, सुयोग्य हुनुहुन्छ । अनुभवी पनि हुनुहुन्छ । यो देशको संविधान निर्माण गर्दैगर्दा संविधान सदस्यको रुपमा उहाँले महत्त्वपूर्ण योगदान गर्नुभएको छ । सचेतकको रुपमा पनि उहाँले अनुभव हासिल गरिसक्नुभएको छ ।,’’ सांसद शर्माले भन्नुभयो, ‘‘त्यसैले म आज देशको यो परिस्थितिको माझमा खासगरी गएको निर्वाचन पछाडि जनताबाट विविध खालको अभिमत प्रकट भएको बेलामा संसदलाई एउटा शालीन, एउटा अनुभवी र एउटा परिपक्व नेतृत्व जरुरी छ भनिरहँदा म मेरो दलको तर्फबाट प्रस्तावको नाताले म अन्य सबै राजनीतिक दलहरुलाई पनि उहाँका लागि मत प्रकट गर्न लागि अपिल र आग्रह गर्न चाहन्छु ।’’

साथै उहाँले यही संसदबाट सरकार सत्तापक्ष र संसद् प्रतिपक्षको भन्ने मान्यतालाई विकसित गरेको भनाइ व्यक्त गर्नुभयो ।

‘‘सम्माननीय प्रधानमन्त्रीजीलाई विश्वासको मत दिइरहँदा पनि नेपाली काग्रेस पार्टी प्रष्ट छ–हामी प्रमुख प्रतिपक्ष हौं । र, प्रमुख प्रतिपक्षको भूमिकामा रहन्छौं । प्र्र्र्र्र्रमुख प्रतिपक्षको उम्मेदवारलाई माननीय सदस्यहरुले सभामुख पदमा निर्वाचित गर्दैगर्दा त्यसले उसै पनि हामीले प्रमुख प्रतिपक्षको भूमिका जिम्मेवारी ढङ्गले निर्वाह गर्ने उदघोष गरिरहेका छौं ।,’’ उहाँले भन्नुभयो, ‘‘हाम्रो प्रस्तावको उम्मेदवार सभामुख बन्दैगर्दा यो संसदतर्फ हाम्रो दायित्व झन बढ्नेैछ नै । र, हामी उसै पनि अझ नैतिक बन्धनमा बाँधिनेछौं ।’’

सांसद शर्माले तत्कालीन शक्ति सन्तुलनको दृष्टिले पनि नेपाली कांग्रेसको प्रस्तावित उम्मेदवार बनाउन बढि उपयुक्त हुने बताउनुभयो ।

‘‘मङ्सिर ४ मा सम्पन्न निर्वाचनबाट सबैभन्दा ठूलो दलको रुपमा नेपाली कांग्रेस पार्टी स्थापित छ । सामान्यतः सबैभन्दा ठूलो दलले कि सरकारको नेतृत्व गर्छ अथवा सरकारमा सहभागिता राख्छ । तर यो वा त्यो कारण होस् । परिस्थितिवश यो बेला हामी सरकारभन्दा बाहिर छौं । र, सरकारमा बाहिर रहेर पनि विश्वासको मत दिएर हामी अघि बढेका छौं ।,’’ सांसद शर्माले भन्नुभयो, ‘‘त्यसैले सभामुखको आसन होस् । या शीतल निवासतिरको लक्ष्य होस् । सबैभन्दा ठूलो दलको त्यो अपेक्षाका साथ त्यसले जनताको बहुमतको प्रतिनिधित्व पनि हुन्छ । र, त्यसबाट शक्ति सन्तुलनको सिद्धान्तको पनि सम्बोधन हुन्छ भन्ने कुरा म स्पष्ट गर्न चाहन्छु ।’’

महामन्त्री शर्माले सभामुखका लागि ईश्वरीदेवी न्यौपाने, शालीन, अनुभवी र सुशिक्षित नेत्री भएको दाबी पटक–पटक गर्नुभयो ।