• १२ साउन २०८१, शनिबार

पश्चिम सेती निर्माणमा साझेदारी गर्छौं : मुख्यमन्त्री रावल

blog

प्रकाशविक्रम शाह

धनगढी, माघ ५ गते । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले पश्चिम सेती र सेती छैटाैं विद्युत् परियोजना निर्माणमा आवश्यक सहयोगसहित साझेदारीका लागि प्रतिबद्धता बताउनुभएको छ । 

मुख्यमन्त्री रावलले बुधबार प्रेस विज्ञप्ति सार्वजनिक गरी विद्युत आयोजनाको विकास, समन्वय र साझेदारीका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको हो । लगानी बोर्ड र भारतको एनएचपीसीबीच पश्चिम सेती र सेती छैटाैं परियोजना निर्माणका लागि गत भदौमा समझदारी पत्रमा हस्ताक्षर भएको थियो ।

मुख्यमन्त्री रावलले आयोजना निर्माणपछि सुदूरपश्चिम प्रदेश आर्थिक र सामाजिक विकासको मूल प्रवाहमा आउने विश्वास व्यक्त गर्नुभयो । दुई जलविद्युत् परियोजनाको समझदारी पत्रमा हस्ताक्षर भएकोमा खुसी व्यक्त गर्दै उहाँले विद्युत् निर्यात गरेर मुलुकको व्यापार घाटा न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गर्नुभएको छ । 

सुदूरपश्चिम प्रदेशका नागरिक र मुलुकको समृद्धिसँग जोडिएको यस महत्वपूर्ण परियोजना कार्यान्वयनमा आफ्नो क्षेत्रबाट सहयोगका लागि अपिल गर्दै समझदारीपत्र अनुसार परियोजना विकास र शीघ्र कार्यान्वयनका लागि नेपाल सरकारसँग मुख्यमन्त्री रावतले अनुरोध गर्नुभयो । 

मुख्यमन्त्री रावलले परियोजना निर्माणका लागि सबै पक्षबाट सहयोगको अपेक्षा राखिएको उल्लेख गर्नुभएको छ ।